१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गैरआवासीय नेपाली संघमा राजनीतिको छायाँ, परराष्ट्र मन्त्रालयको पत्रपछि विश्व सम्मेलन अनिश्चित


0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । संघका तिन जना पदाधिकारीले परराष्ट्र मन्त्रालयमा उजुरी दिएका आधारमा मन्त्रालयले हस्तक्षेप गरेपछि संघको १० औं विश्व सम्मेलन पनि अन्योलमा परेको छ ।

एनआरएनको चुनावमाथि हस्तक्षेप गर्दै परराष्ट्र मन्त्रालयले आगामी कात्तिक ३ गतेमा हुने निर्वाचनसम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन भनेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले भदौ २५ गते एनआरएनएलाई पत्र लेखेर निर्वाचन रोक्न निर्देशन दिनुभएको हो ।

नयाँ नेतृत्व चयन गरेको तीन दिनपछि कात्तिक ६ देखि ८ गतेसम्म विश्व सम्मेलन गर्ने गैरआवासीय नेपाली संघको कार्यतालिका छ । एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता भएको विदेशमा रहेका नेपालीहरुको साझा संस्था हो । ८० बढि देशमा यसका शाखाहरु छन् । परराष्ट्र मन्त्रालयसँग समन्वय र सहकार्य गरेर एनआरएनएले आफ्नो गतिविधि गर्दै आएको छ ।

उजुरीहरुका सम्बन्धमा परराष्ट्र, कानून र सञ्चार मन्त्रालयका प्रतिनिधिहरु रहेको अनुगमन समिति बनेको र सो समितिले आफ्नो प्रतिवेदन पेश नगरुञ्जेल निर्वाचनसम्बन्धी बाँकी प्रक्रियाहरु स्थगन गर्न मन्त्रालयले भनेको छ ।

परराष्ट्र मन्त्रालयको हस्तक्षेपकारी पत्रको व्यहोरा हेर्दा अब कानून, सञ्चार र परराष्ट्र मन्त्रालयका कर्मचारी सम्मिलित टोलीले युरोपका विभिन्न देश र जापानको भ्रमण गरेर स्थगलत अनुगमन गरेपछि मात्रै एनआरएनको निर्वाचन प्रक्रिया अघि बढ्न सक्ने देखिएको छ ।