१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लोभीपापीहरूको झुन्डले दुई महिनासम्म सरकार विस्तार गर्न सकेन– टोपबहादुर रायमाझी

सभामुखले नैतिक रूपमा राजीनामा दिनुपर्नेमा जोड

0
Shares

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभीपापीहरूको संज्ञा दिनुभएको छ ।

बिहीबार काठमाडौंमा भएको साक्षात्कार कार्यक्रममा रायमाझीले सर्वसत्तावादी र चरम अराजकतावादी चिन्तनको आधारमा सरकार चलाउन खोजेको भन्दै वर्तमान सत्ता गठबन्धनलाई लोभीपापीहरूको संज्ञा दिनुभयो ।

लोभीपापीहरूको झुन्ड र व्यक्तिको स्वार्थका कारण नै दुई महिना भन्दा धेरै समयमा मन्त्रिपरिषद्ले पूर्णता नपाएका उहाँले बताउनुभयो । सत्ता गठबन्धन चुनावमा जानका लागि डराएको भन्दै रायमाझीले कांग्रेसको घोषणा पत्र बोकेर हिँड्नेलाई कम्युनिष्ट भन्न नमिल्ने बताउनुभयो ।

रायमाझीले पार्टीले उठाएका माग पूरा नभएसम्म संसद अवरुद्ध गरिरहने बताउनुभयो । उहाँले सभामुख अग्निप्रसाद सापकोटाले एउटै घटनामा दुईवटा मापदण्ड देखाएको भन्दै सभामुखले नैतिक रूपमा राजीनामा दिनुपर्ने बताउनुभयो । महिना दिन बितिसक्दासमेत सभामुखले नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदको नाम नटाँसेको भन्दै पार्टीको कार्यकर्ता भएर नचल्न चेतावनी दिनुभयो ।

पूर्व उपप्रधानमन्त्री रायमाझीले सरकारले एमसीसीको बारेमा आफ्नो स्थिति स्पष्ट गर्नुपर्ने बताउनुभयो । सरकार आफैँ अलमलमा रहेको भन्दै उहाँले सरकारले एमसीसीबारे प्रस्ताव नै ल्याउन नसकेको टिप्पणी गर्नुभयो । राष्ट्रिय हित विपरीतका प्रावधान सच्याएर एमसीसी पास गर्दा राम्रो हुने उहाँको भनाइ छ ।

रायमाझीले मुलुकमा कुनै पनि एजेण्डा नभएको तर्क गर्दै तत्काल निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो । ‘मुलुकमा अहिले कुनै पनि एजेण्डा नै छैन,’ उहाँले भन्नुभयो, ‘संसद औचित्यविहीन भएकोले तत्काल निर्वाचनमा जानुपर्छ ।’