
काठमाडौं । चीनसँगको सीमा विवादबारे अध्ययन गर्न गठित टोलीले चीनसँग जोडिएको हुम्लाको उत्तरी क्षेत्रका सीमास्तम्भको अध्ययन गरेर फर्किएको छ ।
अध्ययन समितिको टोली लिमी, लाप्चा र हिल्सा क्षेत्रमा रहेको सीमास्तम्भको अध्ययन गरेर सदरमुकाम फर्किएको हो । हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।
गृह मन्त्रालयका सह सचिव जयनारायण आचार्यको संयोजकत्वमा गठित सात सदस्यीय टोली भदौ २६ गते हुम्ला गएर २७ गते त्यसतर्फ लागेको थियो । प्रमुख जिल्ला अधिकारी आचार्यले लाप्चा क्षेत्रको १२ नम्बर र हिल्सा क्षेत्रका ५ देखि १० नम्बर सीमास्तम्भको अध्ययन कार्य गर्न टोली सफल भएको बताउनुभयो ।
संयोजक आचार्यको टोलीले पाँच हजार दुई मिटर अग्लो स्थान टाकुलेमा रहेको ११ नम्बर सीमास्तम्भको पनि अध्ययन गरेको छ । मौसमी प्रतिकूलताले हुम्ला खण्डमा पर्ने ३ र ४ नम्बर सीमास्तम्भको भने अध्ययन हुन सकेन ।
दुई देशको सिमाक्षेत्र लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सीमास्तम्भ चीनले एकतर्फी पुनःनिर्माण गरेपछि हुम्लामा यसको विरोध हुँदै आएको थियो । १२ नम्बर सीमास्तम्भ नाम्खा गाउँपालिका–६ टाकुलेमा र लाप्चा क्षेत्रमा १२ नम्बर सीमास्तम्भ पर्दछ ।
प्रतिक्रिया दिनुहोस्