१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२४औं गणेशमान स्मृति दिवस मनाइँदै


0
Shares

काठमाडौं । आज असोज २ अर्थात् गणेशमान सिंह स्मृति दिवस । २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४औं स्मृति दिवस मनाइँदैछ । शनिबार विविध कार्यक्रम गरि प्रजातन्त्र पुनःस्थापनाका लागि नेतृत्व गरेका कमाण्डर सिंहको स्मृति दिवस मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो ।

विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको काठमाडौँ, यट्खा टोलमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।

काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो । राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनी लगायतलाई तत्कालीन सरकारले जेल हाल्यो ।

विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशिला तन्नेरी उनी प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो । जेलबाट भागेर भारतमा पुगी अर्का नेता वीपी कोइरालासँग उनले राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि उहाकाे उल्लेखनीय भूमिका छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो। देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले वीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो । उहाँ नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील हुनुभयो। विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनुभयो ।

विसं २०२५ मा बीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उहाँले प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो। उहाँ विसं २०३३ मा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहनुभयो। तत्कालीन पञ्चायती सरकारले वीपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट उहाँले सफाइ पाउनुभयो । उहाँले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो।

वीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा उनले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता सिंहको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बन्नुभएको थियो।