
बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्षमा पहिलो सिजनको सिकार खेल्नका लागि पाँच कम्पनीले दरभाउ पत्र बुुझाएका छन् ।
प्रत्येक वर्ष दुई सिजनमा सिकार हुने ढोरपाटनमा यस वर्षको पहिलो सिकारका लागि पाँचवटा कम्पनीले दरभाउ पत्र बुझाएको सिकार आरक्षण कार्यालयले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले असोज १ गतेसम्मलाई दरभाउपत्र पेश गर्न समय तोकेको थियो ।
विभागले नेपाल ट्राभल एक्सपिडिसन, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्स, हिमालयन सफारिज र ग्लोबल सफारिज सिकार कम्पनीले बोलपत्रमा भाग लिएका छन् । बोलपत्रको प्रक्रिया पूरा गरेपछि मात्र कम्पनीले सिकारका लागि अनुमति पाउँछन् ।
शिकार गराउनका लागि हरेक सिकार याममा विद्युतीय बोलपत्र आव्हान गर्ने गरिएको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिनुभयो । सिकार आरक्षमा प्रत्येक वर्षको असोजदेखि मङ्सिरसम्म पहिलो सिजन र फागुनदेखि वैशाखसम्म दोस्रो गरी दुई सिजनमा सिकार खेल्न अनुमति दिने गरिन्छ ।
यहाँ विषेश गरी नाउर र झारलको सिकार खुला हुने गर्छ । बोलपत्रको प्रक्रिया टुङ्गिएपछि पेशेवर विदेशी शिकारी, कम्पनीका प्रतिनिधिसहितको टोली सिकार खेल्न आरक्षमा पुग्ने विभागका सूचना अधिकारी आचार्यले बताउनुभयो । हरेक वर्ष असोज दोस्रो सातादेखि सिकार सिजन सुरु हुन्छ र सिकारीहरु सिकार खेल्न ढोरपाटन पुग्ने गर्दछन् ।
विभागले दुवै सिजनमा गरी वर्षमा २० नाउर र ११ झारलको शिकार कोटा निर्धारण गर्ने गर्छ । सिकारको सबै काम विभाग मार्फत हुने गरेको छ । स्थानीय व्यवस्थापन र अनुगमन मात्र आरक्ष कार्यालयले गर्छ ।
प्रतिक्रिया दिनुहोस्