२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मलेसियाबाट ६ शवसहित २१ अस्तु ल्याइयो


0
Shares

काठमाडौं । मलेसियाबाट एकैदिन ६ शवसहित २१ जनाको अस्तु नेपाल ल्याइएको छ ।

वैदेशिक रोजगारीका लागि गएर विभिन्न कारण मृत्यु भएका ६ जनाको शवसहित १५ जनाको अस्तु नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र मलेसियमा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।

जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक जना १९ वर्षअघि मलेसियामा गइ हालसम्म नफर्किएकासमेत रहेको छ । उहाँले परिवारका सदस्यहरूले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताउनुभयो ।

स्वयंसेवक रायमाझीले भन्नुभयो, ‘२००२ मा मलेसिया जानुभएका उहाँ सम्पर्कविहीन हुनुभएछ । १९ वर्ष अवैधानिक तवरले बसेपछि छोराहरूसँग उहाँको सम्पर्क भएछ । टिकट काट्ने पैसासमेत छोराले पठाएर नेपाल आउने व्यवस्था भए पनि एयरपोर्टमै बेहोस भएर ढल्नुभएछ ।’

उहाँले थप्नुभयो, ‘तीन दिनको अस्पताल बसाइपछि उहाँको मृत्यु भयो, नेपालमा कान्छो छोराले बुवाको अनुहार नदेखेको भनेपछि हामीले सबै खर्च व्यहोरेर शव नेपाल ल्याएका हौं ।’

कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन । विदेशमा मृत्यु भएकाहरूको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शववाहनमा शव पुर्याउने गर्दै आएको छ ।