
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खर्बौं रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरू हेरफेर गरेको आरोप लगाउनुभएको छ ।
शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौंको खेल गरेको आरोप लगाउनुभयो । आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उहाँले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अर्बौंको खेल भइसक्यो । बीचमा करका दरहरूलाई खर्बौंको तलमाथि पर्नेगरी कसरी हेरफेर गरियो ? सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन ।’
अध्यक्ष ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गर्नुभयो । चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उहाँले १४ महिनापछि बाध्यकारी रूपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताउनुभयो ।
अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरूलाई जुनसुकै पार्टीको भए पनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिनुभयो । जुन पार्टीको सरकार भए पनि कर्मचारीहरूले आफ्नो कर्तव्य, नियम, कानूनको परिधिभित्र रहेर सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।
कर्मचारीहरूले कुनै पार्टीको सदस्य नभएर राष्ट्रको सेवकको रूपमा सेवा पु¥याउनुपर्ने उहाँले बताउनुभयो । सेवाग्राहीको सेवा पाउने अधिकार भएकाले कर्मचारीको सेवा दिनुपर्ने कर्तव्य ठानेर काम गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले कर्मचारी भ्रष्टाचारको विरोधी र स्वच्छताको प्रतिक हुनुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्