
काठमाडौं । प्रहरी प्रधान कार्यालयले चाडपर्व केन्द्रीत सुरक्षा योजना बनाएर लागू गर्न ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ ।
नजिकिँदै गरेको दशैं, तिहार, छठ, इदलगायत चाडपर्व भयरहित रूपमा मनाउन विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिइएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
‘चाडपर्वका बेला मुख्यगरी आर्थिक गतिविधिसँगै मानिसका आवश्यकतासमेत बढ्ने हुँदा बजारमा बढी चहलपहल हुन्छ’ उहाँले भन्नुभयो, ‘साथीभाइ भेटघाटका गतिविधिसमेत बाक्लिँदा झै–झगडा तथा आपराधिक क्रियाकलाप हुनसक्छ ।’
तीव्र गतिमा सवारीसाधन चलाउने र बढी यात्रु चढाउँदा दुर्घटना हुनसक्ने खतरासमेतलाई मध्यनजर गरी सुरक्षा योजना बनाउन निर्देशन दिइएको कुँवरले बताउनुभयो ।
चोरी, अपहरण, कालोबजारी, चन्दा आतङ्कजस्ता आपराधिक क्रियाकलाप हुने भएकाले त्यस्ता गतिविधि हुन नपाउने गरी सुरक्षा योजना निर्माण गरी लागू गरिने कार्यालयले जनाएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा भने हिजोदेखि नै यो योजना लागू गरिएको प्रहरीको भनाइ छ ।
उपत्यकामा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी योजना कार्यान्वयन गरिएको छ । योजनाअन्तर्गत बढी भीडभाड हुने, आर्थिक गतिविधि बढी हुने क्षेत्र, बैंक तथा वित्तीयसंस्था र यातायात क्षेत्रमा निगरानी बढाउन थालिएको छ ।
ठाउँ–ठाउँमा सुरक्षा जाँचका लागि चौकी बढाउने, सादा पोसाकमासमेत सुरक्षाकर्मी परिचालन गर्ने र क्विक रेस्पोन्सटोली गठन गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्