१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादी केन्द्र एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता छ– अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी विस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभएको छ ।

सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो पार्टीमा विस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताउनुभएको हो । उहाँले नेकपा माओवादी केन्द्रमा पनि एमालेका नेताको जस्तै व्यवहार देखिन थालेकाले चिन्ता बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समाजवादी क्रान्ति अघि बढाउनको लागि विकास समृद्धिको यात्रा हुँदै न्यायसहितको एउटा नयाँ समाज निर्माणको निम्ति हाम्रो पार्टीले आफूलाई रुपान्तरण गर्नैपर्छ, हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण हुनथाल्यो, यस्तै भइरहने हो भने मैले भनिसकेको छु पार्टी छ नभने हुन्छ ।’

अध्यक्ष दाहालले समाजको विकास र न्यायको निम्ति पनि पार्टी र हामीहरूलाई रुपान्तरण गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । अध्यक्ष दाहालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता थाहा पाए पनि केही नेताहरूले आत्मसमर्पण गरेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष दाहालले अब फेरि एकपटक सम्पूर्ण कम्युनिष्टहरूले सोच्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले कम्युनिष्टहरूले नेतृत्व नगरे अरुले बिगार्ने मात्रै देखिएको भन्दै सबै कम्युनिष्टहरूले आँखा चिम्लेर भए पनि देश र जनताको लागि सोच्नुपर्ने बताउनुभयो ।