
बागलुङ । बागलुङको पश्चिम निसी स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनमा समस्या भएको छ ।
२०७६ देखि पशु विज्ञान सुरु भए पनि भौतिक संचरना र दक्ष जनशक्तिको अभावले प्राविधि शिक्षाको पठनपाठन गर्न समस्या परेको विद्यालयका प्रधानाध्यापक अमृता बुढा मगरले बताउनुभयो ।
गाउँमै प्राविधिक शिक्षाको पढाइ हुन थाले लाखौं खर्च गरेर ठूला शहरमा पढ्नुपर्ने बाध्यता हटेको भए पनि विषय सञ्चालनमै समस्या भएपछि विद्यार्थीको चिन्ता फेरि बढ्न थालेको छ ।
विद्यालयमा प्राविधिक शिक्षा पढ्ने विद्यार्थी अधिकांश निसीखोला गाउँपालिका ४ र ६ का दलित र जनजाति समुदायका छन् । उनीहरू आर्थिक हिसाबले पनि सम्पन्न भएकाले बाहिर गएर अध्ययन गर्न सक्दैनन् ।
जिल्ला र गाउँमै दक्ष जनशक्ति नहुँदा प्राविधिक शिक्षाको अध्यापन गराउन बाहिरी जिल्लाबाट शिक्षक ल्याउनुपर्ने बाध्यता छ । बाहिरबाट आएकाले अन्त राम्रो सुविधा पाउँदा बीचमै छाडेर जाने गरेका छन् ।
विद्यालयमा शिक्षक दरबन्दी, आर्थिक तथा प्रयाप्त भौतिक पूर्वाधार अभावको समस्या झेलिरहेको छ । जसले गर्दा प्राविधिक कक्षाको निरन्तरता र गुणस्तरमा ह्रास आएको प्रधानाध्यापक बुढाको भनाइ छ ।
सरकारले पशु विज्ञानका लागि मावि तह र निमावि तहमा २/२ वटा दरबन्दी दिएको छ । अहिले प्राबिधिक धारतर्फ ४२ विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस्