
काठमाडौं । मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको छ ।
मुस्लिम आयोग र केन्द्रीय तथ्याङ्क विभागबीच सोमबार ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएका जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिनुभयो ।
गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सीमित गर्न पनि अध्यक्ष अन्सारीले तथ्यांक विभागसँग आग्रह गर्नुभयो । उहाँले आगामी जनगणनामा मुस्लिम आयोग र तथ्याङ्क आयोगको सहकार्यमा समुदायलाई सचेत गराउन पम्प्लेट बाँड्ने जस्ता कार्यमा सहयोग गरेर अघि बढ्ने निर्णय भएको बताउनुभयो ।
अध्यक्ष अन्सारीले मुस्लिम आयोगले प्रत्येक जिल्लामा एउटा समिति बनाउने र समितिसँग तथ्याङ्क विभागको टीमबीच सहकार्य गरेर घरदैलोमा जाने बताउनुभयो ।
अध्यक्ष अन्सारीले अघिल्लो जनगणनामा अधिकांश विदेशीएका मुस्लिम युवाहरू छुटेको भन्दै यसपटकको जनगणनामा नछुटाउन आग्रह गरिएको पनि जानकारी दिनुभयो । छलफलमा तथ्याङ्क विभागको तर्फबाट उप महानिर्देशक हेमराज गिरी उपस्थित हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्