१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


स्याङ्जामा जीप दुर्घटना हुँदा छ जना घाइते, तीनको अवस्था गम्भीर


0
Shares

स्याङ्जा । जिल्लाको चापाकोटमा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

चापाकोट नगरपालिका–७ पाङ्लुङ्गबाट हरिनास गाउँपालिका–६ क्याक्मी जाँदै गरेको ग २ च १३५९ नम्बरको जीप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीप सडकबाट १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

घाइते हुनेहरुमा स्याङ्जा हरिनास गाउँपालिका ६ का जीप चालक २२ का वर्षीय अशोक कुमार मानन्धर र सहचालक ३० वर्षीय तीर्थ नारायण मानन्धर, पाल्पाको रामपुर नगरपालिका ५ की ५२ वर्षीय ज्ञानुमाया राना, रामपुर ४ का ३७ वर्षीय खुम बहादुर क्षेत्री, १८ वर्षीय सरिता मानन्धर, ३७ वर्षीय विना थापा रहेका छन् ।

घाइतेमध्ये अशोक, ज्ञानु र खुमबहादुरलाई रामपुर अस्पतालमा प्राथामिक उपचार गरी थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको प्रहरीले जनाएको छ । बाँकी तीन जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र रामपुर अस्पतालमा उपचार भइरहेको छ ।
जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।