१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तत्काल प्रभावकारी रणनीति नबनाए हात्ती लोप हुने विज्ञको चेतावनी

एउटा हात्तीलाई नपुग्ने क्षेत्रमा १९ वटा हात्ती हुँदा मानव–हात्तीबीच द्वन्द्व बढेको निष्कर्ष

0
Shares

काठमाडौं । नेपालको तराई क्षेत्रमा रहेको सबै निकुञ्ज आरक्षमा हात्तीको वासस्थान र आवतजावत हुने गरेको पाइन्छ । एउटा हात्तीलाई कम्तीमा २५० वर्गकिमिको क्षेत्र आवश्यक पर्छ । त्यो क्षेत्र घट्दै जाँदा र सानो क्षेत्रफलमा धेरै हात्ती बस्ने बाध्यताले नजिकै रहेको मानव बस्तीमा हात्ती पस्न थालेको विज्ञहरूले बताएका छन् ।

हात्तीले खानाको लागि, प्रजनन समागमका लागि र पुर्खा हिँड्ने बाटो भए त्यसलाई पहिल्याउँदै हिँड्ने गर्दछ । यसरी हिँड्ने क्रममा बाटोमा भएको मानव बस्ती, खेत खलियान बिगार्दै हिँडेको पाइन्छ । पूर्वको कोही टप्पु आरक्षमा अर्नासँगै १९ वटा जंगली हात्ती रहेको तथ्याङ्क छ ।

कुल १७५ वर्ग किलोमिटर क्षेत्रफल रहेको कोही टप्पुमा १९ वटा हात्ती हुनु भनेको मानव–वन्यजन्तुको द्वन्द्वको मुल कारण हो । यस्तो द्वन्द्वमा मानवीय क्षति मात्र होइन, वन्यजन्तु पनि दुर्घटनामा पर्ने, मारिने–मर्ने जोखिम हुन्छ । मानव–हात्ती द्वन्द कम गराइ आरक्ष क्षेत्रको दिगो विकास गर्न सरकारले तुरुन्त रणनैतिक योजना बनाएर काम गर्न आवश्यक रहेको आरक्षका वार्डेन अशोक राम बताउनुहुन्छ ।

कोशी टप्पुको संरक्षण, विस्तार र विकासको लागि स्थानीय सरकार र प्रदेश सरकारले पनि भूमिका खेल्नुपर्ने प्रमुख वार्डेन रामको भनाइ छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओली, नेपालमा रहेका संरक्षण क्षेत्रको संख्या र स्थानबारे अध्ययन हुन आवश्यक रहेको बताउनुहुन्छ । संरक्षित क्षेत्रलाई मानवबस्ती र खेती गर्ने जमीन घेर्दै जाने र अनावश्यक घुसपैठले मानव–वन्यजन्तु द्वन्द्व बढाइरहेको उहाँको भनाइ छ । संरक्षित क्षेत्रको क्षमता तथा विस्तार र वन्यजन्तु स्थानान्तरणबारे विद्यमान कानूनी व्यवस्थालाई संसोधन गरेर अगाडि बढ्नुपर्ने उहाँ बताउनुहुन्छ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष खासगरी जंगली भैंसी, अर्नाको संरक्षको लागि स्थापना गरिएको थियो । २०३२ सालमा अर्ना संरक्षणको लागि स्थापना भए पनि अहिले लोपोन्मुख चराहरू, हात्तीको संरक्षणमा काम भइरहेको छ । पछिल्लो समय आरक्षहरू मानव–हात्ती द्वन्द्व व्यवस्थापनको काममा पनि बढी केन्द्रित हुनुपर्ने बन्दै गएको छ ।