
काठमाडौं । पार्टी मुख्य कार्यालय सानेपामा धर्नामा बसेकाहरुलाई मन्त्रीले हातपात गरेको भन्दै कांग्रेस संस्थापन इतर समूह प्रतिकारमा उत्रिएको छ । पौडेल समूहले पार्टी मुख्य कार्यालयमा विरोध र धर्ना दिने तयारी गरेको छ ।
कांग्रेस सांसद अमरेशकुमार सिंहको नेतृत्वमा विरोध प्रदर्शन गर्न लागिएको हो । सिंहका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला लगायतका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिने भएका हुन् ।
मंगलबार प्रदेश–२ का युवा तथा खेलकुद र महिला बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाही जिल्ला बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई हतपात गरेको भन्दै विरोध जनाइएको हो ।
उनीहरु बीच क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद भएको थियो । पार्टी कार्यालय सानेपामा भएको त्यो विवादबारेको करिब दुई मिनेट लामो भिडियो समाजिक सञ्जालमा भाइरल छ ।
भिडियोमा दुईजनाबीच भनाभन भएको देखिन्छ । त्यतिकैमा धेरैजना कराएको आवाज सुनिन्छ –त्यसपछि गालिगलौज सुरु हुन्छ । गालिगलौजपछि धकेलाधकेल भएको दृष्य भिडियोमा देखिन्छ । यसरी विवाद प्रदेश मन्त्री र वडाध्यक्षबीच भएको थियो । वडाध्यक्ष महतोले मन्त्रीसँगको भनाभनमा धकेलाधकेल भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्