१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस क्रियाशील विवाद सुल्झाउन उच्चस्तरीय समिति असफल, कार्यविधिमै जुटेन सहमति


0
Shares

अक्कल कुँवर
काठमाडौं । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्य विवाद झन्–झन् भूसको आगो बन्दै गएको छ । विवाद समाधान समितिले ९ बुँदे समझदारी गरी १३ जिल्लाको क्रियाशील सदस्यता समाधान भएको दावी गरे पनि चुलिँदो विवाद गुट–उपगुटका लागि स्वार्थको रोटी सेकाउने मसला भएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित क्रियाशील सदस्यता विवाद समाधान समितिले विवाद भएका क्षेत्रमा १३औं महाधिवेशनकै बेलाको क्रियाशील सदस्यबाट वडा अधिवेशन गर्ने सहमति गरेकाे छ । सहमतिअनुसार बाँकी रहेका क्षेत्रको विवाद, केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, जीवन परियार र योगेन्द्र चौधरीको सहयोग लिएर केन्द्रीय कार्यालयबाट गर्ने सहमति पत्रमा उल्लेख छ ।

९ बुँदे सहमति र निर्देशन अनुसार विवाद मिलाउन केन्द्रीय सदस्य त्रयको पटक–पटकको प्रयास सफल हुन सकेको छैन । केन्द्रीय सदस्य योगेन्द्र चौधरी बाँकी रहेका क्षेत्रको क्रियाशील सदस्यता विवाद मिलाउन जटिल रहेको बताउनुहुन्छ । ‘एकदम धेरै जेलिएका विषयवस्तु भएकाले विवाद सुल्झाउने विषय सहज छैन,’ उहाँ भन्नुहुन्छ, ‘निर्णय प्रक्रियामा टुंगोमा पुग्दा हामीलाई धेरै अप्ठ्याराहरु छन् ।’

क्रियाशील सदस्यता विवाद सम्बन्धमा सिटौला नेतृत्वको समितिले सहमति गरेको दुई दिनपछि बुधबार बसेको पदाधिकारी बैठकले असोज ९ गतेभित्र बाँकी रहेको विवाद समाधान गर्न पुनः सोही समितिलाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्मा जानकारी दिनुहुन्छ । ‘बाँकी जिल्लाहरूको क्रियाशील सदस्यता विवाद समाधान गर्न काम गर्ने गति बढाएर काम गर्ने निर्णय भएको छ,’ उहाँ बताउनुहुन्छ, ‘त्यसका लागि तीन जनाको समिति बनाइएको छ ।’

क्रियाशील सदस्यता छानविन समितिका सदस्य समेत रहनुभएका चौधरी क्रियाशील सदस्यता विवाद समाधान कार्यविधिमै समितिका सदस्यहरुबीच एकमत नरहेको बताउनुहुन्छ । ‘निर्णय कार्यान्वयन गर्नका लागि हामीहरु पनि एउटै बुझाइ छैन,’ उहाँ भन्नुहुन्छ, ‘यद्यपि सहमतिले मार्गदर्शन भने गरेको छ ।’

क्रियाशील सदस्यता विवादकै कारण प्रदेश नम्बर २ का ८ जिल्लासहित कैलाली, सुर्खेत, बाँके, रसुवा र डोल्पामा पछिल्लो पटक संशोधित कार्यतालिका अनुसार वडा अधिवेशन हुनसकेको छैन । कांग्रेसले विभिन्न चरणमा गरी ६४ जिल्लाममा वडाअधिवेशन सम्पन्न गरिसकेको छ । अन्य पार्टीबाट कांग्रेसमा समायोजन भएकाहरूलाई दिइएको क्रियाशील सदस्य र केन्द्रबाट सिधै क्रियाशील सदस्यता दिएपछि लामो समयदेखि विवाद छ ।