
किरण थापा
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन प्रक्रिया संगै सिन्धुपाल्चोक जिल्ला जिल्लामा सभापतिका आकांक्षीहरु बढेका छन् । सिन्धुपाल्चोक जिल्लामा पार्टीको जिल्ला अधिवेशन नजिकिँदै गर्दा सभापतिको लागि झण्डै आधा दर्जन स्थानीय नेताले तयारी स्वरुप कार्यकर्ता भेटघाट तथा भेला र छलफल थालेका छन् ।
जिल्ला सभापतिका लागि इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले औपचारीक रुप मै कांग्रेसको आउँदो महाधिवेशनमा जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । कार्याकर्ताको माझमा लोकप्रिय रहनु भएका तामाङलाई सभापतिको लागी योग्य उम्मेदवारको रुपमा पनि हेरीएको छ ।
यस्तै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि नेपाली कांग्रेसको जिल्ला सभापतिमा आफ्नो दाबी सार्वजनीक गरेका छन् । यस्तै हालका क्षेत्रीय सभापतिद्वय आइतमान तामाङ र बालकृष्ण बस्नेत, हालका जिल्ला सभापति विकास लामा, पूर्वसचिव कृष्णप्रसाद न्यौपाने, महासमिति सदस्य प्रेमध्वज लामा, हरिशरण श्रेष्ठ, भोला बोहोरा समेत सभापतिको आकांक्षी देखिएका छन् ।
पार्टीलाई एक ढिक्का बनाउन सहमतीय नेतृत्वको लागि छलफल चलाउन कांग्रेस कार्यकर्ताले चौतर्फी दबाब दिइरहेको भएपनि जिल्लामा भने गुटगत विश्लेषण कै आधारमा नेताहरुले उम्मेदवारी घोषणा गरेका छन् ।
तर पनि औपचारीक रुपमा जिल्ला सभापतिमा नेपाली कांग्रेसको संस्थापन धारले कसलाई अघि सार्छ भन्ने खुलिसकेको छैन । हालै सम्पन्न वडा स्तरीय अधिवेशनबाटै जिल्लामा नेपाली कांग्रेसको संस्थापन धार बलियो देखिएको छ । दुई नम्वर क्षेत्रमा भने संस्थापन र संस्थापन ईत्तर दुवैको अवस्था लगभग समान देखिएको छ ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत दोस्रो चरणमा मंगलबार सिन्धुपाल्चोकका १०३ वडामध्ये ३ वटा वडामा अधिवेशन सम्पन्न भएको छैन् । १०३ वडा मध्ये जुगल गाउँपालिकाको गुम्बा, सुनकोशी गाउँपलिकाको कालिका र हेलम्बु गाउँपालिका ७ मा निर्वाचन प्रक्रिया नै अघि बढ्न सकेन ।
सिन्धुपाल्चोक जिल्लामा संस्थापन पक्ष र पौडेल पक्षका प्रतिनिधिको मिश्रित परिणाम आएको छ । अझ रोचक त के भएको छ भने, जिल्लाका पूर्वसभापतिदेखि नेविसंघका महामन्त्रीलगायत ठूला नेता गाउँमै पराजित भएका छन् । र, विद्यार्थी राजनीतिक गरिरहेका युवाहरु प्रतिनिधि चयन भएका छन् ।
नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशनमा ठूला नेताहरु नै पराजित भएका छन् । कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति भुपेन्द्रबहादुर थापा वडामा नै पराजित हुनुभएको छ । त्यस्तै नेविसंघ महामन्त्री बलदेव तिमिल्सना पनि गाउँमा नै पराजित हुनुभएको छ ।
त्यस्तै महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गिता नेपाल र सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल पनि गाउँमा नै पराजित हुनुभएको छ । अन्य जिल्लास्तरका कतिपय नेताहरु पनि गाउँमा नै पराजित भएको कांग्रेसले जानकारी दिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत गाउँबाट प्रतिनिधि छनोट हुनु नपर्ने भए पनि बस्नेत आफ्नो गृह वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वारोध चयन हुनुभएको छ । त्यस्तै थुम्पाखरका भिष्मप्रताप भण्डारी र ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी पनि गाउँमै पराजित हुनुभएको छ । ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले भने निर्वाचनमा धाँदली भएको भन्दै बहिस्कार गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले रामचन्द्र पक्षधर नेता कार्यकर्ताहरुलाई गाउँमै हराउने नीति अघि सार्नुभएको हो । अघिल्लो जिल्ला अधिवेशनमा पौडल पक्षधर विकास लामा जिल्ला सभापतिमा निर्वाचित भएपछि यो पटक भने बस्नेतले अन्य पक्षधरलाई गाउँबाट ‘पत्तासाफ गराउने नीति’ लिएको कांग्रेस स्रोतको दाबी छ ।
बस्नेतले गाउँगाउँमा अन्य पक्षका नेताहरुलाई हराउन निर्देशन दिएको स्रोतको दाबी छ । लामो समयदेखि कांग्रेसमा क्रियाशील पूर्व सभापति भुपेन्द्र थापाले अधिल्लो वर्ष जिल्ला सभापतिमा समेत उम्मेदवारी दिनुभएको थियो । बुधबार बिहानसम्म कांग्रेसको क्षेत्रीय प्रतिनिधिहरुको सबै विवरण सार्वजनिक नभए पनि क्षेत्र नम्बर १ मा संस्थापन पक्ष ९देउवा समूह०मा प्रतिनिधिहरुको बहुमत देखिएको छ भने क्षेत्र नम्बर २ मा पौडल पक्षको बहुमत देखिएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ का प्राय गाउँ सभापतिहरु समेत बस्नेत पक्षधरका नै रहेका छन् । क्षेत्र नम्बर २ मा भने पौडेल पक्षधर प्रतिनिधि र वडा सभापतिहरुको बहुमत देखिएको छ । कतै मतदानबाट त कतै सर्वसम्मत रुपमा कांग्रेसका वडा सभापतिहरु निर्वाचित भएका छन् । अधिवेशन सम्पन्न भएका वडाहरुमा हेर्दा ८० प्रतिशत भन्दा बढी वडा सभापतिमा युवाहरु चयन भएका छन् । क्षेत्रीय प्रतिनिधिहरुमा पनि युवाकै बर्चस्व देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्