१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्थानीयसँग समन्वय नगर्दा मोरङका आकाशे पुल अलपत्र


0
Shares

काठमाडौं । विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो ।

विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन वर्ष भएको छ । २०७७ साल चैत्र २ गते विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरक्षेत्रको बरगाछीमा एक कार्यक्रमकाबीच आकाशे पुलको विधिवत् शिलान्यास गर्नुभएको थियो ।

त्यसयता आकाशे पुलको डिजाइन गरि ठेक्का लगाइए पनि हालसम्म पुल निर्माण हुन नसकेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल बताउनुहुन्छ । स्थानीयसँग समन्वय र छलफल गरेर निर्माणको प्रस्ताव गर्नुपर्नेमा कसैको सनकको भरमा बनाउँछौं भन्दा नगरवासी सहमत हुन नसकेको उहाँको भनाइ छ ।

नगरक्षेत्रको सुन्दरता वृद्धि र सडक वारपार गर्न पैदल यात्रीलाई सहजताका निम्ति घाँसचोक, बरगाछी र कंचनबाडीचोकमा गरि तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउने योजना अघि बढाइएको छ । त्यसमध्ये बरगाछी समेतको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर १२ को कला बिल्डर्सले पाएको छ ।

यस्तै, कंचनबाडीचोकमा पुल निर्माणको ठेक्का आरके बिल्र्डसले निर्माणको ठेक्का पाएको छ । घाँसचोक र बरगाछीमा आकाशे पुल निर्माणको जिम्मा पाएको कला बिल्र्डसले ठाउँको सुनिश्चिता नहुँदा निर्माण सुरु गर्न नसकेको कला बिल्र्डस सञ्जय यादव बताउनुहुन्छ । आफूहरुले दशैँमा तयार गरे हस्तान्तरण गर्ने बताए पनि स्थानीयको अवरोधका कारण काम गर्न नसकिको उहाँको भनाइ छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली भने महानगरको विकाससँग जोडिएको बिषयमा सबैले सहयोग गर्नुपर्ने बताउनुहुन्छ । राजमार्गमा घर भएपछि सडक र त्यससँग सम्बन्धित संरचनाले अलिअलि कटान गर्नु स्वभाविक भएको उहाँको भनाइ छ । विकासको कुरामा सबैले सहयोग गर्ने उहाँको विश्वास छ ।

महानगरपालिकाले सरोकारवालासँग पर्याप्त छलफल नगरी स्थानीयलाई विश्वासमा लिन आकाशे पुलको काम अलपत्र परेको छ ।