
दिपेन्द्र अधिकारी
काठमाडौं । झण्डै दुई दशकयताको नेपाली राजनीतिलाई हेर्ने हो भने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिको निर्णायक स्थानमै देखिनुहुन्छ । तर, पटक–पटकको पार्टी विभाजन, खुम्चँदो राजनीतिक शक्तिले आजकल उहाँका अभिव्यक्तिमा आशा भन्दा निराशा र हतासपन देखिन थालेको छ ।
जब जनयुद्धको आगो दन्किएको थियो, उहाँको एक आदेशमा लडाकुहरू मर्न र मार्न पछि पर्दैनथेँ । तर, अहिले प्रचण्डमा हिजोको ओज देखिँदैन । गहकिलो प्रचण्ड नाम अचेल फिक्का–फिक्का झैं लाग्छ । आफ्नै पार्टीपंक्तिलाई समेत खुसी राख्न उहाँलाई हम्मे–हम्मे परेको राजनीतिक विश्लेषक कमल कोइराला बताउनुहुन्छ ।
मुलुकलाई गणतन्त्रमा प्रवेश गराउन प्रचण्डको भूमिकालाई कम आँक्न मिल्दैन । तर, समयसँगै उहाँका सहकर्मी र विश्वासपात्रले पनि साथ छोड्दै गए । झण्डै १३ वर्ष भूमिगत जीवन बिताउनुभएका भएका प्रचण्ड दुई पटक मुलुकको प्रधानमन्त्री बन्नुभयो । तीन दशकदेखि पार्टीभित्र एकछत्र राज गरिरहनुभएका प्रचण्डलाई पदलोलुपको आरोप लाग्दै आएको छ ।
धेरैको बुझाइमा प्रचण्ड एक महत्वकांक्षी नेता हुन् । तर, समयले सधैँ महत्वकांक्षाको उही बेग बोक्न सक्दैन । बढ्दो उमेर, बदलिएको परिस्थितिले उहाँको राजनीतिक गतिमा विगतको धार देखिँदैन । सशस्त्र युद्धमा १७ हजार नागरिकको ज्यान गएको घटनाको जिम्मेवारी प्रचण्डले नै लिनुपर्ने भन्दै विरोधीहरूले आरोप लगाउँदा उहाँ त्यसलाई स्वीकार गर्न चाहनुहुन्न ।
केही दर्जन सांसद लिएर संसद र सरकारमा बस्ने, बार्गेनिङ गरेर मन्त्री पड्काउने, अवसरवादी र टालटुले पाराले आफू वरिपरि सत्ता घुमाइरहेको आरोपलाई पनि प्रचण्डले सजिलै चिर्न सकिरहनुभएको छैन । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको सुरुवात गरेर अभिभावकीय दायित्व निर्वाह गर्ने ठाउँमा उहाँ कहिले पुग्नुहुन्छ, अझै अनुमान गर्न कठिन देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्