१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बगाएकाे तीन महिनासम्म पनि बनेन मेलम्ची पुल, रुख तेर्स्याएर नदी तर्न बाध्य स्थानीय (भिडियो)


0
Shares

काठमाडौं । मेलम्ची नदीमा बाढीले बगाएको बेलिब्रिज अझै बन्न सकेको छैन । बेलिब्रिज बगाएको तीन महिना पुग्दा पनि नयाँ संरचना बनेको छैन ।

गत असार १ गते बाढी आउँदा त्यहाँँ रहेका तीन वटा बेलिब्रिज मेलम्ची नदीले बगाएको थियो । चनौटेको मुख्य बेलिब्रिजको संरचना नबन्दा स्थानीयले हैरानी पाएका छन् । स्थानीयहरूले चनौटेमा रुख तेर्स्याएर मेलम्ची नदी वारपार गरिहेका छन् ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार चनौटेसहित चार स्थानमा बेलिब्रिज निर्माण गर्नुपर्ने भएको हुन्छ । बेलिब्रिज निर्माणका लागि खानेपानी मन्त्रालय, सडक विभाग, सिँचाइ मन्त्रालय, नेपाली सेना र मेलम्ची खानेपानी आयोजनाबीच समन्वय भएको हो ।

सम्बन्धित निकायको सहमति अनुसार चनौटेमा ४८ मिटर लामो बेलिब्रिज निर्माण गरिने भएको छ । यसअघि चनौटेमा ४० मिटर लामो पुल थियो । नदीले नयाँ धार बनाएकाले स्थानीयले पुलको लम्बाइ बढाउनुपर्ने माग गरिरहेका छन् ।

सहमतिमा सडक विभागले पुलको संरचना कस्तो बनाउने भन्ने टुंग्याउनेछ र नेपाली सेनाले पुल जडान गर्नेछ । मेलम्चीमा चार ठाउँमा बेलिब्रिज निर्माण गर्नुपर्ने छ । जसमध्ये चनौटेको मुख्य पुल हो ।