९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


चित्रलेखाको नियति स्वीकार्य हुन्न शिवमायाका लागि ?


0
Shares

-संजिव कार्की 

चित्रलेखा यादव र शिवमाया तुम्बाहाम्फेको नाममा एउटा संयोग छ । दुवैको प्रथम नाम पुलिंगी जब ‘मिडिल नेम’ थपिन्छ तबमात्र यिनीहरु स्त्रीलिंगी जनिन्छन । नामको संयोग र सभामुख नहुने दुर्भाग्यको नियती एकै नबनोस भनेर नै यो आलेख तयार गर्ने दुस्प्रयास गरेको छु । चित्रलेखाको नियति यसकारण पनि शिवमायाको लागि स्वीकार्य हुनुदैन, हुदैन् । कारण शिवमाया तुम्बाहाम्फे मार्क्सवादी प्रगतिवादी राजनीतिक विचारधारा कि उपज हुन । मार्क्सवादी सौन्दर्य र दर्शनको फूलबारीमा फूलेकी सुगन्धित फूल हुन् । मार्क्सवादी नर्शरीबाटै उत्पादित अर्ग्यानिक उत्पादन हुन । चित्रलेखा परम्परागत राजनीतिक शक्तिकी प्रतिनिधि पात्र कम्युनिष्टहरुको भाषामा शंसोधनवादी, सुधारवादी, यथास्थितिवादी पार्टी नेपाली कांग्रेसकी नेता उनलाई परेको अप्ठ्यारो र शिवमायालाई परेको मर्का तुलना हुन सक्तैन ।

कांग्रेसको चरित्र त्यस्तै हो भन्नेले कांग्रेस भन्दा विल्कुल फरक र महिलामैत्री देखिन लैंगिक विभेद तिरस्कार गर्न शिवमायालाई सभामुखको उमेद्वार बनाउन किन्तु , परन्तु लगाउन आवश्यक हुदैन । आम मान्छेहरु, राजनीतिलाई बुझ्ने नियाल्ने र विश्लेषण गर्ने मान्छेहरुको बुझाई पनि यही हो । शिवमाया तुम्बाहाम्फे र चित्रलेखा यादवको नियति महिला भएकै कारण एकै नहोस । स्मरणीय छ २०६२/०६३ को संयुक्त जनान्दोलन पश्चात पुनर्गठित संसदका सभामुख तारानाथ रानाभाट राजनीतिक दलहरुबाट राजालाई सहयोग गरेको आरोपमा अस्वीकृत भएपछि २०६३ बैशाख १३ गते राजीनामा दिन बाध्य भए ।

तत्कालिन उपसभामुख र जनआन्दोलनको क्रममा सडक संसद्को नेतृत्व समेत गरेकी चित्रलेखाले पुनर्स्थापित संसदको अध्यक्षता गरेर शिवमाया भन्दा पहिले नै उपसभामुखले सभामुख रिक्त हुँदा संसद चलाएको इतिहास बनाउन सकिन । यसरी नेपालको संसदीय इतिहासमा शिवमाया र चित्रलेखाले अनौठो संयोगको खेलमा सहभागिता जनाउने अवसर पाए । तत्कालिन परिस्थितिमा उपसभामुख यादवलाई धेरैले सभामुखको रुपमा दलहरुले निर्वाचित गर्छन भन्ने अनुमान लगाएका थिए । त्यत्रो ठूलो परिवर्तनपछि पनि चित्रलेखालाई राजनीतिक दलहरुले विश्वास गर्न सकेनन। दलहरुमा नारीलाई हेर्ने र नारीको क्षमता माथि विश्वास गर्ने वुद्धी पलाएन । नारी हुनुको दोषभागीको दण्ड दिइयो । दलीय भागबन्डामा आफ्नो भागमा सभामुख नपरेको भनेर कांग्रेसले मन्त्रीको अफर गर्दै घटुवाको सिफारिस ग¥यो तर चित्रलेखाको स्वाभिमानले त्यतिबेला मन्त्री पद स्वीकार गरेन ।

भलै कांग्रेस प्रगतिशील सुधारवादी शक्ति मात्रै हो उसलाई यो अपच भएन पचायो । तर अहिले मार्क्सवादीहरुको दुइतिहाइ नजिकको एकल पार्टीको सरकार छ । प्रगतिवादीहरुले शिवमायालाई भुलेर पनि अन्याय गर्न सकिन्न, मिल्दैन र हुँदैन । बामपन्थीहरुको आधारभूत मान्यता नै समानता हो । लैंगिक विभेदको अन्त्य र समतामुलक समाजको निर्माण मार्क्सवादीहरुको चुरो र मूल गन्तव्य हो । समानताको लागि मानिसलाई समान क्षमतावान बनाउन अवसर प्रदान गर्नुपर्छ भन्ने मान्यता यसले लिएको हुन्छ । विभेदको अन्त्य मार्क्सवादीहरुको वैचारिकता हो ।

तसर्थ पनि शिवमायालाई सभामुख बन्ने हक छिन्ने धरातल र स्वतन्त्रता कम्युनिस्ट नेताहरु त्यसमा पनि पार्टीले सभामुख छान्ने जिम्मा दिएका दुई जिम्बुवालहरु पुष्पकमल र खड्गप्रसादलाई छँदै छैन । यदि छ भने त्यो सिद्धान्तच्युत स्वार्थको राजनीतिमा मात्रै छ । कांग्रेस भन्दा हामी भिन्न हौं भनेर प्रमाणित गर्ने सुनौलो मौका पनि हो । नेकपा पार्टीलाई यो पटक शिवमायाको बढुवा । अन्यथा भाइ कांग्रेस भनेर लाग्ने गरेको आरोपले औचित्य पुष्टी गर्ने आधार पाउँछ ।

अंग्रेजी साहित्यमा स्नातकोतर मधेसी महिला चित्रलेखा कांग्रेसको तर्फबाट सभामुख हुन अयोग्य हुनुमा कांग्रेसको भागमा सभामुख परेको थिएन । त्यसलाई पातलो झिलझिले तर्कले ढाक्न सकिएला । कांग्रसले त्यसै भन्छ पनि । तर एकै पार्टीको भएर पनि अमुक अमुक खेमा र लबीको मान्छे भनेर तर्क दिन र शिवमायालाई ‘ब्याक’ गर्न नेकपालाई अब पटक्कै सुहाउन्न । पूर्व एमाले, पूर्व माओबादीको भाग कोटाको भनेर अझै विभाजित मानसिकता बोक्ने हो भने पार्टी एक हुनुको अर्थ चुनाव जित्न मोर्चा बनाएको भन्दा फरक देखिन्न। जबसम्म यो हाम्रो भागको त्यो अर्काको भागको भन्ने मनोविज्ञान रहिरहन्छ तबसम्म पार्टीको भावनात्मक विभाजनको धार अरु धारिलो र फराकिलो हुनेछ । अविश्वास, द्वन्द्व र बैमनश्यता र अलग पार्टी अवधारणा उस्तै र उही रुपको देखिने छ । यो विभाजित मानसिकता अरु मजबूत र गहिरो हुनेछ । शिवमाया क्षमता योग्यता र विशेषताले अब्बल छन । पढाइमा विद्यावारिधि , जनजाती महिला अनेरास्ववियुको राजनीतिबाट केन्द्रिय उपाध्यक्ष समेत बनेकी, तत्कालिन नेकपा मोरङ जिल्ला इन्चार्ज सम्हालेको अनुभव आदि सबै पक्षमा उनको सबलता देखिन्छ । के महिला यौनांग लिएर जन्मनु नै उनको सभामुख हुन नपुग योग्यता हो ? त्यो पनि होइन किनकी ओनसरी घर्ती जो साधारण लेखपढ गरेकी महिलाले समेत संसदको सभामुख भएर संसद चलाएको अनुभव नेकपा र देशलाई छ ।

अब अर्को सन्दर्भ र चर्चा पनि उल्लेख सान्दर्भिक नै होला । नेकपा नेताहरु ,कसैको नजिकको नाता नपरेर हो कि ? आम रुपमा नेकपालाई गरिने प्रश्न र स्वयं नेकपाका नेता कार्यकर्ताहरुले उठाएकै प्रश्न अवसर पाउन लोग्ने या स्वास्नी मध्ये एक मर्नु पर्ने नै हो ? नाताकै कुरा गर्ने हो भने नेकपा नेता तथा सांसद विजय सुब्बा र शिवमाया दाजुबहिनी हुन । अर्को अप्रिय प्रश्न उत्तरित अवसर नबनोस । सभामुख हुन शिवमायालाई यी यावत अवस्था र क्षमता काफी छन् । अब पुरुष हैकमवादी सोच, महिलाको क्षमतालाई अवमूल्यन गर्ने संकीर्णता रहेन कम्युनिस्ट पार्टीका नेताहरुमा भने शिवमायाको सभामुख नहुनुपर्ने कारण छैन । शिवमाया संघीय सांसदको सभामुख प्रतिस्पर्धामा रिंगमा उतार्न नेकपाले खुट्टा कमायो भने त्यो नेकपाको लागि दुर्भाग्य बन्ने कारण मध्ये एक नहोला भन्न सकिन्न ।

कुनैपनि महिला, महिलाका मात्रै नेता होइनन् र महिलाका मात्रै नेता हुने बन्ने र बनाउने परिपाटी गलत छ । महिला भएकै कारण सक्षमले समेत अवसर नपाउने हो भने प्रतिनिधित्वको सवाल मात्रै मुख्य होइन । शिवमाया सभामुख बन्नु भनेको अवसर र क्षमताको सदुपयोग हो । अरुलाई प्रोत्साहन र प्रेरणा पनि हो । शिवमाया सभामुख बनेर, बिद्या भण्डारी राष्ट्रपति बनेर, सुशिला कार्की प्रधानान्याधीश बनेर आम महिलालाई तात्विक असर त पर्दैन देश समाज र वातावरण महिलामैत्री र महिलाप्रति विश्वास र भरोसा गर्ने बन्नुपर्छ । ब्यबस्थापन क्षमता महिलाहरुमा जन्मजात जस्तै हुन्छ घर व्यवस्थापन गर्नेले देश ब्यबस्थापन गर्न सजिलै सक्छन । बरु घर ब्यबस्थापन गर्न नसक्नेहरु पो बुहारी छोरी हुनुको नाताले मन्त्री, मेयर बन्ने सौभाग्य पाउँछन । जुन दुर्भाग्य छ त्यो सुजाता कोइराला हुन या बिना मगर र रेणु दाहाल । योग्यता नाता होइन व्यक्तिको कुशलता हो ।

संसद देशलाई न्याय गर्ने मुख्य थलो हो । त्यहाँ एक महिलामाथि अन्याय हुन सक्दैन र हुनुहुदैन पनि । पार्टी एकीकरणको सकस भनेर महिलामाथि विभेद गर्ने छुट अब पनि सह्य होला र ? शिवमायाको पक्षमा नेकपा भित्र र बाहिर महिलाहरुको आवाज जति बुलन्द हुनुपर्थ्यो त्यति हुन नसकेको देख्दा लाग्छ आफ्नो प्रातडनाको शिकार महिला आफैं हुन मन्जुर गर्छन कतिपय मामला र सन्दर्भमा । यतिबेला शिवमायाको पक्षमा महिलाहरुको लबिंग नदिखिनु र नसुनिनु महिलावादी र महिलाअधिकारवादीहरुको आफ्नै प्रताडनाको साक्षी बस्नु हो आमन्त्रण गर्नु हो । पार्टीको सजिलोको लागि भन्दै चित्रलेखा र शिवमायाले बली चढने स्थिती निश्चय नै आम महिला समता र न्यायको वकालत गर्नेहरुको लागि लज्जा र शिर झुक्ने विषय हो ।

सभामुख र सुवास नेम्बाङ पर्यावची झैँ देखिएका छन उसै पनि । झन अहिले पनि सभामुखमा उनकै नाम हावी भएको छ । एक चेलीको भाग खोसेर अवसर र महत्वपूर्ण पद आफ्नो लागि मात्रै राख्दा स्वीकार गर्दा सुवास नेम्वाङ स्वयंले पनि अप्ठ्यारो मान्नु पर्ने हो । सामन्तवादी संस्कार र चेतना विरुद्द लडेका नेम्वाङले आफैं सामन्ती सोच राखेर आफ्नै मात्र पृष्ठपोषणलाई मध्यनजर राख्दा जुग जुगांतर पाइने सम्मानबाट बन्चित हुने कुरामा पनि हेक्का राख्नु बेठिक हुँदैन । महिला शसक्तिकरण , महिला ,उत्थान ,महिला विकासको पक्षमा र लैंगिक उत्पीडन बिरुद्द लडेको पार्टी र तिनका नेताहरुले सर्वमान्य अवसर आउदा शिवमायालाई घात गर्छन भने नेकपाको दर्शन र सिद्दान्त अब पनि कम्युनिस्ट नै रह्यो, छ, र हो भनेर महिलाहरुले विश्वास गर्ने आधार के ?

पार्टी पदाधिकारी पार्टी संगठन र प्रतिनिधित्वको सवालमा ३३ प्रतिशत पुर्‍याउनु पर्ने संवैधानिक प्राबधान पनि पालन नगर्ने नेकपलाई अरुले ग¥या छैनन् त्यसैले हामीले पनि गर्न सकेनौ भन्ने भद्दा तर्क गर्न लाज लाग्नुपर्ने हो । कम्युनिष्ट सिद्दान्त दर्शन लक्ष्य भनेको व्यक्तिको, पार्टी जीवनको आचरण, ब्यबहार , पद्दति र शैली हो । व्यवहारमा नदेखिने सिद्दान्त आदर्शमा र घोषणा पत्रमा मात्रै सिमित हुने हो भने कम्युनिष्ट र अरु बिचको भिन्नता कहाँ रह्यो ? किन रह्यो ? यथास्थितिवादीको बिरोध गरेर परिवर्तनको संखघोषगर्ने पार्टीले महिला भएको कारण शिवमायालाई सभामुखको लागि अयोग्य देख्छ भने समतामुलक आग्रह बोकेर हामी लडेका छौं भन्नुको अर्थ रहदैन ।

कम्युनिष्ट दर्शनको अग्रगामी सामाजिक चेतना भनेको महिलालाई पन्छाएर पुरुष हैकम बारम्बार दोहोर्याउनु पक्कै होइन होला । क्षमताको कदर हुन्न भने समानुपातिक समावेशीकरण जस्ता विषय पनि आपना मान्छे भर्ती गर्ने र कार्यकर्तालाई दाश मनोबृतिमा राखिराख्ने उपाय र चाकरी प्रथाको नवीन संस्करण भन्दा अरु केही होइन ? पुर्व सभामुखको रासलिलाको सजाय उपसभापति तुम्बाहाम्फेले पाउने किन ? सभामुख निर्वाचनको लागि आफू बाधक नबनेको र उपसभामुखको राजीनामा झोलामा बोकेर हिडेको उक्तिले पनि दुई नेता ओली र दाहालको अडानले संसद अनिर्णयको बन्दी बन्दैछ । नेताहरुको निर्णय क्षमताको अभावमा सिंगो संसद र सभामुख छान्ने प्रक्रिया अवरुद्द हुनु गणतन्त्रको सुन्दरता हुन सक्तैन । सभामुख र उपसभामुख एकै पार्टीको र एकै लिंगको हुन नहुने संबैधानिक ब्यबस्था कति घाँडो लागेको छ दलहरुलाई त्यही घाँडो नेकपा विभाजनको कारण नबनोस् कसैगरी ?