१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सभामुखले एमालेको माग सम्बोधन गर्नै सक्नुहुन्न– महामन्त्री कोइराला


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को माग सम्बोधन गर्न नसक्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै महामन्त्री कोइरालाले माधव नेपालसहितका १४ जना सांसदलाई पदमुक्त गराउने एमालेको माग सभामुखले सम्बोधन नगर्न नसक्ने बताउनुभयो ।

अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदहरूलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिनुभयो ।

‘उनीहरूले के भन्छन् भने माधवकुमार नेपालसहित जति पनि सांसदहरू छन्, उनीहरुलाई निस्कासन गर्नुस्, त्यो त सभामुखले गर्न सक्नुहुन्न । यसैमा विरोध भइरहेको छ’, उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयाे, ‘हाम्रो धारणा के हो भने अब विधेयक आइसकेको छ । २० प्रतिशतले टुक्रयाउन चाहन्छ भने टुक्रिन्छ । ती पार्टीहरू टुक्रियो । जुन विरोधमा आएको छ । त्यही अनुसार फलो गर्नुपर्छ ।’

महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि बताउनुभयो ।