१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परराष्ट्रमन्त्री डा‍. खड्काबाट संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई सम्बोधन


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले विश्वका ४५ लाख मानिसले कोभिड १९ का कारण ज्यान गुमाएकाप्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ ।

संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई सम्बोधन गर्दै खड्काले महामारीका कारण आफ्नो प्रियजन गुमाएका विश्वभरका नेताहरुप्रति गहिरो संवेदना व्यक्त गर्नुभएको हो ।

उहाँ भन्नुहुन्छ, ‘महामारीको यो संकटले संसारलाई पीडामा पारेको छ, विश्वव्यापी अर्थतन्त्रलाई ध्वस्त पारेको छ, थप १५० करोड मानिसलाई चरम गरीबीमा धकेलेको छ, र कडा मेहनतले गरेको विकासमा असर गरेको छ ।’

खड्काले खोप असमानताको खाडल धेरै गहिरो रहेकाले कम आय भएका देशहरुमा प्रतिकूल सामाजिक-आर्थिक प्रभाव छोडेर भ्याक्सिनलाई जनताको जीवनको हितको लागि सार्वजनिक सामानको रुपमा घोषणा गर्नुपर्ने बताउनुभयो ।

उहाँले कोभिड १९ बाट उत्पन्न चुनौतीको सामना गर्न राष्ट्रसंघले खेलेको भुमिकाको प्रशंसासमेत गर्नुभयो । ‘कोभिडबाट उत्पन्न चुनौतीहरुलाई सम्बोधन गर्न र संयुक्त राष्ट्रसंघीय प्रणाली सहित अन्तराष्ट्रिय समुदायले गरेका प्रयासहरुको प्रशंसा गर्दछु’, उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघले सबैलाई, सबै ठाउँमा भ्याक्सिनको निष्पक्ष र न्यायोचित पहुँच सुनिश्चित गर्ने कुरालाई जोड दिएको छ ।’

खड्काले सम्बोधनका क्रममा जनताको जीवन सरकारको पहिलो प्राथमिकता भएकाे बताउँदै हालसम्म नेपालका २० प्रतिशत जनतालाई कोभिड १९ विरुद्धको खोप लगाइसकेको जानकारी दिनुभयो ।

खड्काले ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भएपनि आफ्नो देशले जलवायु परिवर्तनको असर भने ठूलो भोगिरहेको बताउनुभयो । नेपालले ६३ वर्षदेखि शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा निरन्तर योगदान दिएको स्मरण गर्दै सबैभन्दा धेरै शान्ति मिसनमा सेना पठाउनेमा नेपाल पनि एक रहेको बताउनुभयो ।

खड्काले बहुपक्षीय र राष्ट्रिय हितका विभिन्न मुद्दाहरुमा नेपालको स्थितिलाई उजागर गर्नुभएको छ ।