
काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन पनि सेयर बजारमा पहिरो जाने क्रम जारी रहेको छ । यस दिन कारोबार रकम भने केही बढेर ५ अर्ब ७४ करोड पुगेको छ । सोमबार ५ अर्ब १२ करोडको कारोबार भएको थियो ।
उतारचढावकाबीच सेयर बजार परिसुचक ‘नेप्से’ ७० अंकले ओरालो लागेर २६ सय १५ विन्दुमा झरेको छ । यसदिन कारोबार भएका सबै समूहमा गिरावट आएको छ । यसदिन जीवन बीमा समूह सबैभन्दा उच्च ४ सय ३१ अंकले ओरालो लाग्दा निर्जीवन बीमा समूहमा ३ सय २५ अंकको गिरावट आयो ।
यस्तै लघुवित्त, विकास बैंक, उत्पादनमुलक समूह, होटल तथा पर्यटन, वाणिज्य बैंक, वित्त, अन्य र व्यापार समुहमा पनि दोहोरो अंकको गिरावट आयो । आज १० कम्पनीका लगानीकर्ताले मात्रै कमाउँदा १ सय ७३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
मनकामना लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढि कमाउँदा हिमालयन पार्टनर पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे । मंगलबार २ सय १८ कम्पनीको १ करोड ३० लाख कित्ता सेयर ५ अर्ब ७४ करोडमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्