२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पाकिस्तान र नेपालबीच खेलको विशेष योजना लिएर फर्किएको छु– शाहिद अफ्रिदी


0
Shares

काठमाडौं । पाकिस्तानी क्रिकेट टीमका पूर्वकप्तान शाहिद अफ्रिदीले पाकिस्तान र नेपालबीच खेलको विशेष योजना लिएर आफू देश फर्किएको बताएका छन् ।

पाकिस्तान फर्किएपछि मंगलबार एक ट्वीट गर्दै अफ्रिदीले आफू नेपाल यात्राको क्रममा एकदम धेरै याद तथा पाकिस्तान र नेपालबीच खेलको विशेष योजना लिएको बताए ।

उनले नेपालमा आफू ल्याण्ड गर्नेबित्तिकै देखि दिएको शाही आतिथ्यताको लागि पनि धन्यवाद दिएका छन् । साथै नेपाल आफूलाई घरजस्तै लागेको पनि उनले बताएका छन् । ट्वीटमा उनले शनिबार एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेलेको र राष्ट्रपतिको कार्यालयमा खिचेका दुई तस्वीर राखेका छन् ।

अफ्रिदीले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुका साथै माउन्टेन फ्लाइट पनि गएका थिए । उनले काठमाडौं किंग्स इलावेनबाट शनिबार पहिलो खेल खेलेका थिए । सोमबार उनले दोस्रो खेल खेल्ने तय भए पनि पानीले मैदान भिजेपछि दोस्रो खेल स्थगित भएको थियो ।

नेपाली मिडियासँगको अन्तर्वार्तामा उनले आफूले पाकिस्तान गएर नेपाली खेलाडीलाई क्रिकेट खेल्नको लागि बोलाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नेपाल क्रिकेटलाई आफूले सक्ने जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै परिवारसहित नेपाल आउने बताए ।