१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विराज महर्जनले ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने


0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् ।

च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै विराज महर्जनसँग एक वर्षे अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको जानकारी गराएको हो । अघिल्लो सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका विराजको टोली विजेता भएको थियो ।

अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सहिद स्मारक ‘ए’ डिभिजन लिग कात्तिक २९ बाट आयोजना हुँदैछ । अनुभवी डिफेन्डर विराजले यस अघि न्यूरोड टिम (एनआरटी), थ्री स्टार, संकटा र मनाङ मस्र्याङ्दीबाट खेलिसकेका छन् ।

यस्तै, च्यासलले स्कटल्याण्डका ली मान्सनलाई प्राविधिक निर्देशक नियुक्त गरेको छ । पछिल्लो पटक लाओस एफसीको प्राविधिक निर्देशकको रूपमा काम लीलाई क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि नियुक्त गरेको हो ।

मंगलबारै च्यासल युथ क्लबलाई खेलकुद सामाग्री उत्पादक कम्पनी युक्यानले प्रायोजन गर्न क्लबसँग सम्झौता गरेको छ । चिनियाँ ब्राण्ड युक्यानले मंगलबार च्यासललाई एक वर्षको लागि प्रायोजन गर्ने सम्झौता गरेको हो । च्यासलका अध्यक्ष रमेश ब्यन्जनकार र युक्यानका निर्देशक राजेन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।