
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा पोखरा राइनोज विजयी भएको छ ।
मैदानमा पानी जमेपछि सात ओभरमा झारिएको खेलमा ललितपुर प्याट्रियट्सले दिएको ५१ रनको पूरा गर्दै पोखरा ९ विकेटले विजयी भएको हो । उसले तीन बल बाँकी छँदै एक विकेट गुमाएर ५५ रन बनायो ।
पोखराको जितमा साउथ अफ्रिकाका विस्फोटक ब्याट्सम्यान रिचार्ड लेभीले नटआउट सर्वाधिक ३८ रन बनाउँदा रित गौतम १२ रनमा पेभेलियन फर्किए ।
बलिङतर्फ ललितपुरका लागि अफगानिस्तानका अलराउन्डर अजमत्उल्लाह ओमारजाइले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा तानिएको ललितपुरले पूरै सात ओभरमा ६ विकेट गुमाएर ५१ रन जोडेको थियो । उसका लागि श्रीलंकाका सन्दुन विराक्कोडीले १९, नारायण जोशीले ११ तथा श्रीलंकाकै ओसाडा फर्नान्डोले अविजित १० रन ल्याउनुबाहेन अन्य खेलाडीले दोहोरो अंकले रन जोड्न सकेनन् ।
बलिङतर्फ पोखराका नारायण यादवले तीन, विक्रम सोबले दुई तथा वेस्ट इन्डिज बलर केसरिक विलियम्सले एक विकेट लिए ।
जितसँगै पोखरा तीन अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । यसअघि आइतबार भैरहवा ग्लाडियटर्ससँग भएको खेल पानीका कारण रद्द भएपछि पोखराले अंक बाँडेको थियो । डिफेन्डिङ च्याम्पियन ललितपुर भने दुवै खेलमा हार बेहोर्दै अंक तालिकाको पुच्छारमा छ ।
प्रतिक्रिया दिनुहोस्