१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पटक–पटक तस्करीको आरोपमा पक्राउ परेकाहरू धरौटीमा रिहा, गैंडा संरक्षण चुनौति


13
Shares

डोलराज रानाभाट
चितवन । दुर्लभ एक सिङ्गे गैंडाको तस्करमा संलग्नहरूलाई अदालतले धरौटीमा छाडिदिँदा संरक्षणमा चुनौति थपिँदै गएको संरक्षणविद्हरूले बताएका छन् ।

एकपछि अर्को गैंडा तस्करमा एउटै व्यक्ति संलग्न भइरहने अनुसन्धानबाट खुलेको हो । तर, तस्कर पक्राउ गरी अदालत बुझाए पनि धरौटीमा छाडिदिँदा तस्करहरू झन् हिम्मत बढेको छ । तस्करहरूको माखेसाँङ्लोका कारण दुर्लभ एक सिङ्गे गैंडाको संरक्षणमा चुनौति थपिँदै गएको छ ।

निकुञ्जले मंगलबार मात्रै ८ जनालाई तस्करीको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको छ । जसमा गैंडा मार्न हिँडेका व्यक्तिदेखि कोरियामा पुगेर फर्किएका तथा एउटै घरका तीन जनासम्म संलग्न रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउनुहुन्छ ।

एउटै व्यक्तिले पटक–पटक गैँडा मारेको समेत अनुसन्धानका क्रममा भेटिएको अधिकृत बरालको भनाइ छ । सम्पूर्ण स्रोत साधन प्रयोग गरेर पक्राउ परेका तस्करहरू विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार तोकिएको कारबाही नगरी धरौटीमा छोड्दा तस्करको मनोबल बढाएको सहायक संरक्षण अधिकृत सरोजमणी पौडेल बताउनुहुन्छ ।

तस्करहरूले एउटा गैंडाको तस्करीपछि नाम, ठाउँ र सिमकार्ड परिवर्तन गर्ने गर्छन् । एन्टिपोचिङ युनिट हेर्ने निकुञ्जका रेन्जर लक्षमण राय, तस्कहरूविरुद्ध कडा कदम नचाल्दा गैंडा जोगाउन कठिन हुने बताउनुहुन्छ ।

पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ वन्यजन्तु एक सिङ्गे गैंडा चोरी सिकारी गरेको अभियोगमा पक्राउ गरी अदालतमा पेश गरेकोमा तीन जना धरौटीमा छुटे । पुनः सरकारी वकिल कार्यालयबाट पुनरावेदन गरिएको छ ।

निकुञ्जले चालु आर्थिक वर्षको हालसम्म १४ जना र अघिल्लो आर्थिक वर्षमा २८ जना गरी ४२ जनालाई गैंडा मुद्दामा पक्राउ गरिसकेको छ । तस्करका जालो भत्काउन कठिन भइरहँदा अदालतबाट हुने फैसलाले अर्को चुनौति थपिएको छ । तस्करविरुद्ध कडा कदम नचाले दुर्लभ एक सिङ्गे गैंडा एकादेशको कथा नबल्ला भन्न सकिन्न ।