
काठमाडौं । केवल टेलिभिजन व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशन कुलमान घिसिङमा दम्भ बढेको आरोप लगाएका छन् ।
बुधबार सरकारको नीतिका कारण व्यवसायीहरुको व्यवसायमा परेको नकारात्मक प्रभावका विषयमा आयोजित केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलामा व्यवसायीहरूले घिसिङ एउटा सफल र कुशल प्रशासक भए पनि दम्भ बढेको बताए ।
व्यवसायीले कुलमान घिसिङले आफ्नो दम्भका कारण केवल व्यवसायीहरूलाई मारमा पर्ने गरेर नीति ल्याएको आरोप लगाए । सरकारको नीतिबाट अधिकांश क्षेत्र नै पीडित रहेको भन्दै व्यवसायीहरूले सबैको हित हुनेगरी नीति निर्माण गर्न सुझाएका छन् ।
आफूले उठाएका माग सम्बोधन गर्नुपर्ने अडानमा रहेका व्यवसायीहरूले सरोकारवाला निकायसँग छलफल नै नगरी सरकारले एकोहोरो नीति ल्याएको आरोप लगाएका छन् । उनीहरूले विद्युत् प्राधिकरणले पोलको भाडा बढाइएको कुराले अफ्ठ्यारोमाथि अफ्ठ्यारो थपेको बताए ।
विद्युत प्राधिकरणको पोल प्रयोग नगरी घर–घरमा टेलिभिजन नपुग्ने भएकोले प्राधिकरणले पोलको भाडा बढाएर जनताको सूचनाको हक खोस्न लागेको प्राधिकरणको विरोध गरेका छन् । प्राधिकरणले तोकेको पोल भाडाको मूल्य व्यवसायीहरूले तिर्न नसक्ने र तार काटिएमा घर–घरमा टेलिभिजन प्रसारण नहुने उनीहरूको भनाइ छ ।
विद्युत प्राधिकरणले पोलको भाडा ३५० प्रतिशत वृद्धि गरेपछि सरकारले सूचनाको हक खोस्न लागेको भन्दै केवल टेलिभिजन व्यवसायीहरूले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेर आन्दोलन गरिरहेका छन् । केवल टेलिभिजन व्यवसायी महासंघको आयोजनामा देशभरबाट ४ सय भन्दा बढी व्यवसायीहरू उपस्थित भएका छन् ।
व्यवसायीहरूले सरकारको नीति र निर्णयका कारण आफ्नो व्यवसाय नै धरापमा पर्न लागेको भन्दै आफूहरु बाध्य भएर राष्ट्रिय भेलामा सहभागी बनेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्