
काठमाडौं । नेकपा (माओवादी) केन्द्रले पार्टी संगठनलाई व्यवस्थित बनाउने सम्बन्धमा छलफल गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको संगठनलाई व्यवस्थित बनाउने सन्दर्भमा संगठन विभागले सुझाव र योजनाहरू पेश गरेको स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जानकारी दिनुभयो । बैठकले पेश गरिएका सुझाव र योजनाहरूलाई स्वीकार गरेको पनि उहाँले बताउनुभयो ।
त्यस्तै बैठकमा, विगतमा विभिन्न समयमा भएको पार्टी एकीकरणमा आएका नेता, कार्यकर्ताहरू संगठित हुन छुटेको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न बनाएको कार्यदलले प्रतिवेदन पेश गरेको पनि उहाँले जानकारी दिनुभयो । कार्यदलले बुझाएको सुझावलाई ध्यान दिएर त्यही अनुसार सांगठनिक प्रक्रियामा लैजान अगाडी बढ्ने उहाँले बताउनुभयो ।
त्यस्तै बैठकमा पार्टी स्कूल विभागले पनि पार्टी स्कूल विभागलाई कसरी लैजाने भन्ने योजना प्रस्तुत गरेको थियो । यसलाई थप अध्ययन गरेर व्यवस्थित रूपमा टुंगो लगाउने कुरा भएको पनि उहाँको भनाइ छ ।
स्थायी कमिटी सदस्य गुरुङले सरकार गठनका लागि भएको कानूनी जटिलता अन्त्य हुने प्रक्रियामा रहेको उल्लेख गर्दै कानूनी जटिलता अन्त्य भइसकेपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद्बारे नीतिगत निर्णय गर्ने र मन्त्रीहरूको टुंगो लगाइने बताउनुभयो । बैठकमा मन्त्रिपरिषद् विस्तारको विषय एजेण्डाको रुपमा नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्