
काठमाडौं । विभागीय टिम एपीएफ क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थि राखेपको कभर्डहलमा बिहीबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लब लाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ समूह विजेता बनेको हो । प्रतिस्पर्धात्मक खेलमा एपीएफले पुलिसमाथि २५–१४, २१–२५, २५–१८ र २५–१९ को सेटमा जित निकाल्यो । पुलिस भने समूह उप–विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्यसैगरि न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मी उप–विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आर्मीले २ खेलमा ३ अंक जोड्यो । न्यू डायमन्ड र आर्मीको खेलसँगै महिलातर्फको सेमिफाइनल समीकरण समेत पूरा भएको छ ।
अब सेमिफाइनलमा न्यू डायमन्डले पुलिससँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले एपीएफको सामना गर्नेछ । नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
महिला–पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्