१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कालिज पालनमा सेवा निवृत्त फौजी, सात महिनामै मनग्य आम्दानी


39
Shares

ध्रुबसागर शर्मा
म्याग्दी । १७ वर्ष भारतीय सेनामा बन्दुक बोकेर सेवानिवृत्त भइ गाउँ फर्किएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नविन घिमिरेको दैनिका आज पनि उस्तै व्यस्त छ । दिनभर तालिम र दौडले चलिरहेको फौजीको ज्यान नेपाल फर्किएपछि बसिरहन मात्र किन मान्थ्यो र !

काम गरिरहने स्वभावका घिमिरे गाउँ फर्किएसँगै घिमिरेले कालिज पालन सुरु गर्ने योजना बनाउनुभयो । ०७७ फागुनमा रञ्जिला कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर उहाँले व्यावसायिक रूपमै कालिज पालन सुरु गरिहाल्नुभयो । सुरु गरेको अहिले सात महिनामा व्यवसायले आम्दानी दिन थालिसकेको छ ।

२१ लाख रुपैयाँको लागतमा कालिज पालन सुरु गर्नुभएका घिमिरेको फर्ममा अहिले ६ सय कालिज हुर्कँदै छन् । यस अवधिमा १ सय १० वटा बिक्री भइसक्यो । हेर्दा छोटो समय देखिए पनि आफूले लामो समय अध्ययन गरेर मात्र कालिज पालन सुरु गरेको घिमिरले बताउनुहुन्छ ।

‘भारतीय गोर्खा सैनिकमा हुँदा दार्जिलिङमा कालिज पालन गरेको देखेर म लोभिएको थिएँ,’ ३९ वर्षीय फरासिला घिमिरे भन्नुहुन्छ, ‘पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आउँदा नेपाल सरकारले कालिज पालनका लागि अनुमति दिएको थाहा पाएर तत्कालै कालिज पालन व्यवसाय सुरु गर्ने योजना बनाएँ ।’

७ रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोरमा अहिले ४ सय बढी ‘रिङनेट’ जातका कालिज हुर्किरहेका छन् । अधिकांश कालिज बिक्रीका लागि तयार भइसकेका छन् । बेनी, भकुण्डे, बागलुङ र पोखराको बजारमा प्रतिगोटा ३ हजार ५ सय रुपैयाँका दरले कालिज बिक्री हुने गरेको घिमिरे बताउनुहुन्छ ।

घिमिरेले कालिजका लागि मकै, गहुँ, कोदोका साथै बजारबाट आयातित दाना खुवाउँदै आउनुभएको छ । त्यसका साथै हरियो भुइँ तथा डालेघाँसबाट पनि कालिजलाई दानाको व्यवस्थापन गरिरहेको उहाँ बताउनुहुन्छ । फर्ममा स्थानीय तीन जनाले रोजगारीसमेत पाएका छन् ।

निकट भविष्यमा ह्याचिङ मेसिन राखेर आफैँले चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको संख्या बढाउने घिमिरेको योजना छ । पाँच महिनामा दुई किलो भन्दा बढी तौल हुने र खान पनि स्वादिलो हुने भएकाले यसको माग बढेको छ । विशेष गरी युरिक एसिड भएका र सुत्केरी महिलाहरूका लागि कालिजको मासु हितकार मानिन्छ ।

५ देखि ७ महिनाभित्र बिक्री गर्न योग्य हुने कालिजलाई व्यवसायिक रूपमा विस्तार गर्दै लैजाने उहाँको सोच छ ।