
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चाजस्तो भएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा सांसद अधिकारीले नेकपा (एकीकृत समाजवादी) अवैधानिक पार्टी भएको बताउँदै कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले नेकपा एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहने बताउनुभयो ।
सांसद अधिकारीले नेकपा एमालेले गरेको संसदको अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका संसदीय दलका नेतासँग बसेर छलफल गर्नुपर्ने बताउनुभयो । सांसद अधिकारीले कानून र संविधान मिचेर सरकारमा सहभागी गराइएको अवैधानिक पार्टी सहभागी भएको बैठकमा सहभागी नबन्ने पनि स्पष्ट पार्नुभयो ।
‘साच्चिकै अवरोध खुलाउने हो भने सभामुखले प्रमुख प्रतिपक्षी दलको नेतासँग व्यक्तिगत रूपमै भेट्नुहोस्, प्रधानमन्त्रीले संसदीय दलको नेतासँग भेट्नुहोस्,’ सांसद अधिकारीले भन्नुभयो, ‘नेकपा एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहन्छ ।’
‘संविधान, कानून मिचेर बनाइएको र सरकारमा समावेश भएको दललाई मान्यता दिइएको बैठकमा हामी जाँदैनौँ,’ उहाँले थप्नुभयो, ‘एस पार्टी वैधानिक पार्टी होइन, नेकपा एस पार्टी नराखी हामी बस्न सक्छौँ, त्यो पार्टी नै हो कि होइन, कृत्रिम गर्भधानबाट जन्मेको बच्चा जस्तो, त्यो पार्टी नै होइन ।’
प्रतिक्रिया दिनुहोस्