१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललितपुरमा नगर प्रहरीकाे हटलाइन सुरु, अब चौबिसै घण्टा सेवा दिने


13
Shares

दीपक श्रेष्ठ
काठमाडौं । तपाईंलाई कुनै आकस्मिक सेवा चाहिएको छ ? यदि त्यसो हो भने ललितपुरबासीलाई खुसीको खबर छ ।

खबर पाएको १५ मिनेटभित्र ललितपुर महानगरले नगरबासीको सेवामा तत्परता लिने भएको छ । यही प्रयोजनका लागि बन्दोबस्ती सामान सहित ७८ नगरसुरक्षा दस्ता चौबीसै घण्टा तैनाथ छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरका लागि बनाइदिएको ५ तले भवनमा नगर प्रहरीले आफ्नो कन्ट्रोल रुम सहितको कार्यालय खडा गरेको छ । यहाँ रहेको ०१–५९०९७७७ नम्बरको हटलाइनमा फोन गर्नासाथ १५ मिनेटमै सेवा पाउनुहुनेछ ।

२०५५ मा स्थापित नगर प्रहरीले यसअघि दैनिक आठ घण्टा ड्युटी गर्दै आएका थिए । अब आवासीय रूपमै राखिएका सुरक्षाकर्मीले जुनसुकै समय पनि सेवा दिने नगर प्रहरी प्रमुख सिताराम हाछेथु बताउनुहुन्छ ।

तपाईंको घर अगाडि कसैले फोहोर मिल्कायो ? अनुमति विना होर्डिङ बोर्ड राख्ने, पोस्टर टाँस्ने वा निर्माण कार्य पो गरे कि ? हो यस्ता अवैध कामको नगरप्रहरीले तत्काल निरुपण गर्नेछ । दशैंको मुखमा उपभोक्ता ठगिने, सवारी साधनको सुरक्षा, पार्किङ, जात्रा व्यवस्थित गर्न नगरप्रहरी अग्रपंक्तिमा रहने प्रहरी प्रमुख हाछेथुको भनाइ छ ।

चर्चा बटुल्न र सामाजिक सञ्जालमा वाहवाही कमाउन मात्र यस्ता काम सीमित नहुन् । नगरबासीले अन्तरमनले सुरक्षा महसुस गर्न पाएको खण्डमा मात्र नयाँ कामको औचित्य सावित हुनसक्छ । सेवाको महसुस नारा हैन, कामले मात्र दिने भएकाले महानगर यसतर्फ गम्भीर बनोस् ।