२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ईपीएल क्रिकेट : ललितपुरको पहिलो जित, बनायो ईपीएल इतिहासकै उच्च रन


0
Shares

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा ललितपुर प्याट्रियट्सले पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित दर्ता गर्न सफल भएको हो । ललितपुरले दिएको २ सय २७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो ।

विराटनगरका लागि दिल्शन मुनाविराले ५९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् । आसिफ शेखले ३७ रन जोड्दा चन्द्रपउल हेमराजले २८ रन जोडे । सिकन्दर राजा २४ रनमा आउट भए ।

ललितपुरका अज्मतुल्लाह ओमारजाईले ४ विकेट लिँदा ललित राजवंशीले २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले ५ विकेटको क्षतिमा २ सय २६ रनको योगफल तयार पारेको थियो । ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक हो । यसअघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।

ललितपुरको उच्च योगफलमा ओपनर विराकोड्डीले सर्वाधिक ७३ रनको अर्धशतकीय पारी खेले । यस्तै ओमारजाइले अविजित ५८ रन जोड्दा कप्तान कुशल भुर्तेलले ३२ रन जोडे । यता योगेन्द्र सिंह कार्कीले २७ रन जोड्दा नारायण जोशीले १८ र जयकिशन कोल्सावालाले १३ रन जोडे ।

विराटनगरका कप्तान करण केसीले दुई विकेट लिँदा सिकन्दर राजा, प्रतिश जिसी र दिलशान मुनाविराले एक–एक विकेट हात पारे । जितसँगै ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । विराटनगरको यो लगातार तेस्रो हार हो । अंकविहीन विराटनगर तालिकाको पुच्छारमा छ ।