१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले विधान महाधिवेशन : दस्तावेजमाथिको छलफल जारी


0
Shares

काठमाडौं । नेकपा (एमाले)को विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि समूहगत छलफल भइरहेको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भइरहेको हो ।

महाधिवेशनमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधिहरू सहभागी छन् । १० वटा समूह बनाएर तीन वटै प्रस्तावमाथि बिहान ८ बजेबाटै छलफल सुरु गरिएको पार्टीका कार्याaलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमालेले पहिलो पटक पार्टीको नीति र विधि निर्माणका लागि छुट्टै विधान महाधिवेशनको आयोजना गरेको हो । प्रस्तुत प्रतिवेदनहरूमाथि आइतबार प्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ दिएपछि महाधिवेशन समापन हुनेछ ।

अध्यक्ष ओलीले शुक्रबार महाधिवेशनको उद्घाटन गर्दै पार्टी विभाजनको मुख्य योजनाकार पुष्पकमल दाहाल र माधव नेपाल भएको आरोप लगाउनुभएको थियो । त्यसैगरी उहाँले सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाले पनि आफ्नो पार्टी विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै कानुनी प्रतिवाद गर्ने बताउनुभएको थियो ।

१० औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने र त्यसले पार्टीको नेतृत्व चयन गर्ने एमालेले जनाएको छ ।