
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ ।
मुम्बईले दिएको १ सय २९ रनको लक्ष्य १९ ओभर १ बलमा ६ विकेटको क्षतिमा पूरा गर्दै दिल्लीले चार विकेटको जित दर्ता गराएको हो । दिल्लीको जितका लागि श्रेयस अय्यरले ३३, ऋषभ पन्तले २६, रवीचन्द्रन अश्विनले २० र शिमरोन हेटमायरले १५ रनको योगदान गरे ।
मुम्बईका ट्रेन्ट बोल्ट, जयन्त यादव, कुर्णाल पाण्ड्या, जसप्रित बुमराह र नाथन कट्लर–निलले एक–एक विकेट लिए ।
यसअघि युएईको शारजहाँमा टस हारेर ब्याटिङमा तानिएको मुम्बईले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । उसका लागि सूर्यकुमार यादवले ३३, क्वीन्टिन डी ककले १९, हार्दिक पाण्ड्याले १७, सौरभ तिवारीले १५, कुर्णाल पाण्डेयले १३ र जयन्त यादवले ११ रन बनाएका थिए ।
मुम्बईलाई सस्तैमा समेट्न दिल्लीका अवेष खान र अक्षर पटेलले तीन–तीन तथा रविचन्द्रन आश्वीन र एनरिच नर्ट्जेले एक–एक विकेट लिए ।
जितसँगै १८ अंक जोडेको दिल्ली अंकतालिकाको दोस्रो स्थानमा छ । ११ खेलबाट समान १८ अंक जोडेको चेन्नई सुपर किङ्स नेट रनरेटका आधारमा पहिलो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्