१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एनभीए भलिबल च्याम्पियनसीपको उपाधि त्रिभुवन आर्मी क्लबलाई


0
Shares

काठमाडौं । छैठौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसीप प्रतियोगिताको पुरुषतर्फको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा उपाधि दावेदार मानिएको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई त्रिभुवन आर्मी क्लबले ३–१ को सेटमा पराजित गरेको हो ।

नेपाली राष्ट्रिय टोलीका खेलाडीको अतिरिक्त भारतीय खेलाडी रहेको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउन विभागीय त्रिभुवन आर्मी क्लबलाई हम्मेहम्मे परेको थियो । पहिलो सेटमा आर्मीले २६–२४ को जित निकाल्दा दोस्रो सेट आर्मीले १७–२५ ले गुमाएको थियो । यस्तै तेस्रो सेट २५–१८ ले जित्दा चौथो सेटमा जीत निकाल्न धेरै मेहनत गर्नुपर्‍यो ।

पाचौं सेटमा आर्मीले १७–२२ को आरामदायी अग्रता लिए पनि हेल्प नेपालले लगतार ५ अंक जोडेर बराबरीको अवस्थामा ल्याएपछि खेल थप रोमान्चक बनेको थियो । २२–२२ को बराबरीमा रहेको अंकलाई हेल्प नेपालले २५–२४ को अग्रता सम्म पुर्‍याएको थियो ।

अन्तिम समयमा अग्रता जोगाउन नसक्दा हेल्प नेपाल स्पोर्ट्स क्लब ३१ अंकमा रोकिँदा ३३ ले नतिजा आर्मीको पक्षमा गएको थियो । उपाधि जितेको आर्मीले ४ लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ भने दोस्रो भएको हेल्प नेपालले २ लाख रुपैयाँ पाएको छ ।

यसअघि शनिबार दिउँसो भएको खेलमा पोखराको न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–१ सेटको नजितामा पराजित गरेको थियो ।