१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रकम अभावले गौतमबुद्ध क्रिकेट रंगशाला स्वामित्वविहीन बन्दै

जनताको करोडौं लगानी बालुवामा पानी हुने चिन्ता

26
Shares

डोलराज रानाभाट
चितवन । चन्दा उठाएर बनाउन सुरु भएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण रोकिएसँगै स्वामित्वविहीन बनेको छ ।

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर २०७७ साउन १ गतेबाट सुरु भएको निर्माणको काम ३५ प्रतिशत सकिँदा पैसाको अभाव देखाएर निर्माण नेतृत्व लिएको धुर्मुस सुन्तली फाउण्डेशनले हात उठाएपछि अलपत्र बनेको हो । डिपिआर अनुसार ३ अर्ब ५५ करोड रुपैयाँ लागतमा बनाउन सुरु गरिएको रंगशालाले अहिले चरम आर्थिक संकट झेल्नुपरेको छ ।

महायज्ञबाट ६९ करोड ४५ लाख ५६ हजार संकलन गर्ने लक्ष्य रहे पनि जम्मा २० करोड संकलन भएको लेखा तथा प्रशासन अधिकृत मुक्ति तिमिल्सेनाले जानकारी दिनुभयो । हालसम्म दाता, भरतपुर महानगरपालिका, प्रदेश सरकार सहितबाट जम्मा भएको करिब ५५ करोड २७ लाख रुपैयाँ खर्च भइसकेको जानकारी उहाँले बताउनुभयो ।

अहिले ३ हजार दर्शक अट्ने प्याराफिट निर्माण भइसकेको र भीआईपी टावर १ र २ को फाउण्डेशन सकिएको प्रोजेक्ट म्यानेजर जनार्दन शर्मा देवकोटाले जानकारी दिनुभयो । अन्य काम रोकिए पनि मुख्य मैदानमा दुवो रोप्ने र हुर्काउने, सरसफाईको काम जारी रहेको उहाँको भनाइ छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको सम्झौता अनुसार ३ वर्षमा निर्माण कार्य सक्नुपर्नेछ । आर्थिक अभाव भएको भन्दै मेची महाकालीदेखि मेरो कुर्ची अभियान चलाए पनि आर्थिक स्रोत जुट्न सकेको छैन । यता, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले रंगशाला अलपत्र पर्न नदिने बताउनुहुन्छ ।

देशकै सानको रूपमा लिए पनि पछिल्लो समय चितवनको मात्रै गहना हो भन्ने बुझाइ हावी भएको देखिन्छ । त्यस्तै हिजो प्रतिवद्धता व्यक्त गरेका राजनीतिक दल र नेताहरू चुनावी दाउ हेरिबसको तथा स्वामित्व लिएरमात्रै काम गर्ने दाउमा रहेको कतिपयको बुझाइ छ ।

फाउण्डेशन भने सरकार अभिभावक बनेर सहयोग गर्न आग्रह गरिरहेको छ । एक पटक पुन सारा नेपाली जुर्मूराए आर्थिक स्रोत जुट्ने र आर्थिक समस्या झेल्नु नपरे पौने २ वर्षमा स्टक्चरको काम सकिने बताइएको छ ।