१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


एमालेमा अध्यक्षसहित १५ पदाधिकारीको व्यवस्था


0
Shares

काठमाडौं । नेकपा एमालेको विधानमा अध्यक्षसहित १५ पदाधिकारीको व्यवस्था गरिएको छ । पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएसँगै एमालेको नीति तथा संगठनात्मक ढाँचामा केही परिवर्तन आउने भएको छ ।

अब एमालेमा एक अध्यक्ष, एक वरिष्ठसहित ५ जना उपाध्यक्ष, एक एक जना महासचिव र उपमहासचिव तथा ७ जना सचिव रहनेछन् ।

पार्टीमा एक व्यक्तिले दुईपटकभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ । कुनै नेताले जिते पनि हारे पनि दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको हो ।

यस्तै उमेरहदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउने छन् । तर कार्यकालको बीचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको छ ।

यसबाट वर्तमान अध्यक्ष केपी ओलीलाई सहज भएको छ । मंसिरमा हुने पार्टीको महाधिवेशनबाट ओली फेरि अध्यक्ष बनेका खण्डमा उहाँले पूर्ण कार्यकाल काम गर्न पाउनु हुनेछ । उहाँ यही फागुनमा ७० वर्ष पुग्दै हुनुहुन्छ ।

यसैबिच, एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर तेस्रो साता बुटवलमा हुने भएको छ । विमान महाधिवेशनको समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा हुने घोषणा गर्नुभएको हो ।