१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१३ लाख बराबरका अवैध सामान बरामद


0
Shares

परासी । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा पश्चिम नवलपरासी प्रहरीले १३ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।

जिल्लाका सीमावर्ती नाकाबाट भन्सार चोरी गरेर ल्याउँदै गर्दा बर्दघाट, सुस्ता र महेशपुर नाकाबाट सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो ।

गएराति पिकअप भ्यानबाट ल्याउँदै गरेको अवस्थामा बर्दघाटबाट बरामद गरिएका सामानमा ६ लाख ७७ हजार बराबरको तामाका भाँडा र कुखुराका लागि प्रयोग हुने औषधि छन् भने सुस्ताको रतनगञ्जबाट पिकअप भ्यानमा ५ लाख बराबरको ९ सय ६४ लिटर मोबिल बरामद गरिएको छ ।

त्यस्तै महेशपुरको कुस्माबाट १ लाख ५० हजार बराबरका विद्युतीय सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ । बरामद भएका सामान र सवारी साधनलाई आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको डिएसपी लामाले जानकारी दिनुभयो ।