
डडेल्धुरा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका कारण नभई गठबन्धका अन्य दलका कारण सरकारले पूर्णता पाउन नसकेको बताउनुभएको छ ।
सोमबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा नेता डा. कोइरालाले दशैंअगाडि मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो ।
डडेल्धुरा कांग्रेसमा भएको क्रियाशील सदस्यता विवाद चाँडै हल हुने भन्दै उहाँले वडाबाट पठाइएका क्रियाशील सदस्यको नामावली कसैलाई जिताउन र हराउन नभई पार्टीको बैठकको निर्णय अनुसार हुने बताउनुभयो ।
नेता कोइरालाले सभापतिको रुचि अनुसार क्रियाशील सदस्यता छानविन समिति, निर्वाचन समितिको मिलेमतोमा देशका सबै जिल्लामा विवाद भएको आरोप लगाउनुभयो ।
पत्रकार सम्मेलनमा कांग्रेस नेता अर्जुननरसिंह केसीले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेसका नेता कार्यकर्ताहरूले गरेको रिले अनसनलाई ऐक्यबद्धता जनाउनुभयो । उहाँहरूले अन्यायमा परेका कांग्रेस कार्यकर्ता र क्रियाशील सदस्यहरूको पक्षमा लडिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्