
काठमाडौं । नेपाल टेलिकमले दशैं, तिहार र छठका लागि विभिन्न अफर ल्याएको छ ।
मंगलबारदेखि लागू हुने गरी टेलिकमले डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर उपलब्ध गराउने भएको कम्पनीले जनाएको छ ।
अफरहरू दशैंका अवसरमा असोज १९ गतेदेखि कात्तिक २ गतेसम्म तथा तिहार, न्हुँदया र छठका लागि कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म उपलब्ध हुने प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।
डाटा प्याक अन्तर्गत २ सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिनेछ । त्यसैगरी कम्पनीले एकदिनका लागि १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध गराउनेछ ।
भ्वाइस सेवा अन्तर्गत २५ रुपैयाँमा २४ घण्टा प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५ सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रूपमा डाटा प्याक उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ ।
२ सय रुपैयाँदेखि ४ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५ सय एमबी र ५ सय रुपैयाँभन्दा बढीको रिचार्जमा ४ दिनभित्र प्रयोग गर्न सकिने एक जिबी डाटा प्याक उपलब्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस्