१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय जनगणना : पूर्ण जानकारी दिन आनाकानी गर्छन् स्थानीय

गाउँमा भन्दा शहरमा तत्थ्याङ्क पाउन मुस्किल रहेको सुपरीवेक्षकको अनुभव

0
Shares

डोलराज रानभाट
चितवन । सात वटा स्थानीय तह रहेको चितवन जिल्लामा जनगणना २०७८ को पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । घर तथा घरपरिवार सूचीकरण गर्ने योजनाअनुसार २ सय १० जना सुपरीवेक्षकहरू भदौ ३० देखि असोज १८ सम्म फिल्डमा रहेका छन् ।

नयाँ संविधान २०७२ पछिको पहिलो जनगणना भएकाले पनि यसलाई विशेष चासो र महत्वका साथ हेरिएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नारा रहे पनि केही ठाउँका स्थानीयले भने पूर्ण जानकारी दिन आनाकानी गरेको फिल्ड सुपरीवेक्षक सोविता लामिछानेको अनुभव छ ।

गाउँभन्दा शहरमा प्रश्नावलीको उत्तर पाउन कठिन भइरहेको अनुभव धेरै सुपरीवेक्षकको छ । तर, त्यस्ता ठाउँमा सहजीकरण गर्दै स्थानीय र जिल्ला जनगणनाबाट कार्यालय प्रमुख नै फिल्डमा खटिने गरेको जिल्ला जनगणना कार्यालय, चितवनका जनगणना अधिकारी यज्ञमूर्ति भण्डारी बताउनुहुन्छ ।

यो पहिलो चरणको कार्यक्रम हो । केन्द्रीय तथ्याङ्क विभागले गणकहरूको नामको सूची सार्वजनिक गरेसँगै अहिले जिल्लामा त्यसको प्रमाणीकरणको काम जारी छ । कार्तिक १३ देखि १६ गतेसम्म तालिम सञ्चालन गरिने भण्डारीको भनाइ छ ।

एक सुपरीवेक्षकले चार जना गणक हेर्नेगरी व्यवस्था मिलाइएको र चितवनमा ८ सय ५७ गणक मुल गणनाका लागि खटिने छन् । अब कार्तिक २५ देखि मंसिर ९ गतेसम्मको मूल गणनाको तयारी सुरु भएको छ ।

सही तथ्य र तथ्याङ्क भएमात्रै योजना बजेटदेखि त्यसको कार्यान्वयनले यथार्थ परिणाम दिने गर्दछ । सोधिएका प्रश्नहरूको उत्तर तथ्याङ्क ऐन २०१५ अनुसार गोप्य रहने हुनाले पनि सत्यतथ्य विवरण दिनु सबै नागरिकको दायित्व हुन आउँछ ।