
अक्कल कुँवर
काठमाडौं । पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको बहस चर्को रूपमा उठेको छ । सत्ताको नेतृत्व गरिरहेको तथा मुलुककै पुरानो पार्टी नेपाली कांग्रेस १४औं महाधिवेशनको संघारमा रहेकाले पनि पुस्तान्तरणको विषय थप पेचिलो बनेको छ ।
यसपटकको अधिवेशनमा कांग्रेसमा युवाको अनपेक्षित सहभागिता देखिएको छ । देशको समसामयिक अवस्थालाई नेतृत्व गर्न सक्ने जुझारु युवाहरू पार्टी नेतृत्वमा आउनुपर्ने अधिवेशन प्रतिनिधिहरूको माग छ । अब आफूहरूले पार्टीलाई हाँक्दै वृद्धहरूलाई अभिभावकीय भूमिकामा रहनसमेत उनीहरूले सुझाव दिएका छन् ।
तर, पुस्तान्तरणका विषयमा युवा प्रतिनिधिरूको आ–आफ्नै अभिमत छ । कतिपय पुस्तान्तरणलाई उमेरसँग जोड्छन् त कतिपय विचार र नीति प्रधान ठान्छन् । पुस्तान्तरण भन्दै गर्दा उमेरको मात्र व्यापार गर्न नहुने उनीहरूको राय छ । उमेरले मात्र युवा भएर विचार युवा भएका मानिसहरू नेतृत्वमा आवश्यक भएको उनीहरूको बुझाइ छ । उमेरलाई मात्र आधार मान्नु गलत हुने उनीहरू बताउँछन् ।
आइतबार सम्पन्न निर्वाचनबाट काठमाडौं महानगर समितिको उपसभापतिमा विजयी सुशीला ढकाल, युवाहरूले पार्टीप्रति निष्ठावान नेतृत्व चाहेको बताउनुहुन्छ । त्यसो त उमेर ढल्केका नेता तथा कार्यकर्तामा पनि युवाविना पार्टीको अस्तित्व नरहने तथ्यलाई स्वीकार गर्न थालेका छन् ।पार्टी भनेर आउने युवालाई पार्टीमा अवसर नदिए कांग्रेसीहरू कम हुने उनीहरूको बुझाइ छ । वृद्ध अवस्थामा पुगेका नेताहरूले मात्र कांग्रेसलाई धान्न नसक्ने उनीहरू बताउँछन् ।
वर्षौंदेखि पार्टीमा कब्जा जमाएका नेताले युवा चाहनाअनुसार राजनीतिमा पुस्तान्तरणको लागि सहयोग गर्नेमा आशंका छ । तर, युवा भने राजनीतिमा पुस्तान्तरण सहज नभए पनि सम्भव रहेको तर्क गर्छन् । २१औं शताब्दीमा नयाँ सोच लिएर अघि बढ्नका लागि युवा पुस्ता नेतृत्वमा आउनुपर्नेमा जोड गर्ने उनीहरू कसै न कसैले हस्तक्षेप गर्नुपर्ने पक्षमा छन् ।
नेपाली कांग्रेसमा पुस्तान्तरणको बहस यसपटक मात्र भने होइन् । तर, अहिलेसम्म राजनीतिमा पुस्तान्तरणको विषय आफ्नो प्रभुत्व जमाउने हतियारको रुपमा प्रयोग हुँदै आएको थियो । यसपटक पनि पुस्तान्तरणको विषय पार्टी नेतृत्व कब्जा गर्न मात्र प्रयोग होला वा साँचो अर्थमा पुस्तान्तरणको सुरुवात होला ? त्यसका लागि महाधिवेशनसम्म पर्खनै पर्छ ।
प्रतिक्रिया दिनुहोस्