
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको प्ले अफ समीकरण पूरा भएको छ ।
लिग चरणको काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडियटर्स बीचको मंगलबारको अन्तिम खेल रद्द भएसँगै प्ले अफ समीकरण पूरा भएको हो । सोमबार भारी वर्षासँगै भिजेको मैदानको आउट फिल्डको कारण मंगलबारको खेल हुन नसकेपछि काठमाडौं र भैरहवाले अंक बाँडेका हुन् ।
खेल रद्द भएसँगै काठमाडौं प्लेअफमा पुगेको छ । साविक विजेता ललितपुर पेट्रियाट्स र काठमाडौंको समान ३ अंक भए पनि रनरेटका आधारमा काठमाडौं प्लेअफमा पुग्न सफल भएको हो । ललितपुर र विराटनर वारियर्स लिग चरणबाटै बाहिरिका छन् ।
लिग चरण सकिएसँगै चितवन टाइगर्स ८ अंकबाट शीर्ष स्थानमा रहन सफल भयो भने ७ अंकबाट भैरहवा ग्लाडियटर्स दोस्रो भयो । ७ अंकको पोखरा राइनोज रन रेटका आधारमा तेस्रो हुँदा ३ अंकको काठमाडौं चौथो भयो ।
बुधबार पहिलो क्वालिफायरमा चितवन र भैरहवाबीच प्रतिस्पर्धा हुनेछ । जित्ने टिम फाइनलमा पुग्नेछ भने हार्ने टिमले इलिमिनेटरको विजेतासँग बिहीबार दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । बुधबारकै इलिमिनेटरमा पोखरा र काठमाडौं दिउँसो साढे १ बजे खेल्नेछन् ।
उपाधि विजेताले ५० लाख रुपैयाँ जित्ने ईपीएलको फाइनल खेल शनिबार हुनेछ । उपविजेताले १५ लाख रुपैयाँमात्र पाउने छ ।
प्रतिक्रिया दिनुहोस्