१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दोहोरो अंकले बढ्यो सेयर बजार, सात कम्पनीका सेयरमा सकारात्मक सर्किट

२ अर्ब ९९ करोडकाे काराेबार

0
Shares

काठमाडौं । लगातार घटिरहेको सेयर बजार कारोबार हुने साताको तेस्रो दिन दोहोरो अंकले बढेको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से ४१ दशमलव ८४ अंकले बढेर २ हजार ६ सय १२ विन्दुमा पुगेको छ ।

यस दिन व्यापार समूह बाहेक अन्य सबै समूहका सेयर मूल्य बढेका छन् । सबै भन्दा धेरै जीवन बीमा समूह ३ सय ७ अंकले बढ्दा, निर्जीवन बीमा २ सय ६५ र विकास बैंक १ सय ४० अंकले बढेका छन् । म्युचल फन्ड र लगानी समूहमा झिनो सुधार देखियो ।

यस्तै, मंगलबार कारोबार भएकामध्ये सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किक लागेको छ । मल्टिपर्पोज फाइनान्स, समता घरेलु लघुवित्त, हिमालयन पावर पार्टनर, मैलुङखोला जलविद्युत्, सिभिल लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तका सेयर मूल्य १० प्रतिशतले बढेका हुन् ।

यस दिन २ सय २३ कम्पनीका ५८ लाख ४२ हजार कित्ता सेयरको किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजारको कारोबार भएको छ । २१ अर्बसम्मको कारोबार भएको सेयर बजारमा अहिले कारोबार रकम घटेको छ । लामो समय सेयर बजार घटेका कारण लगानीकर्ता सेयर होल्ड गर्न चाहिरहेका छन् ।