१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दशैंका लागि तीन महिनादेखि अवरुद्ध सडक खुलाउँदै बागलुङ नगरपालिका, लागत २१ लाख


0
Shares

डम्मर बुढामगर
बागलुङ । बागलुङ नगरपालिका–१०मा गत असार १ गते गएको पहिरोले साढे तीन महिना सडक अवरुद्ध भयो ।

स्थानीयको चर्को दवावपछि बागलुङ नगरपालिकाले अस्थायी रूपमै भए पनि सडक सञ्चालनका लागि अहिले चासो देखाएको छ । सडक निर्माणका लागि जनश्रमदानसहित कुल २० लाख ९३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

पहिरो गएको स्थानमा दशैं अगाडि नै सवारी साधन आवतजावत हुने गरी काम गरिरहेको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्मा बताउनुहुन्छ । तत्काल लागि दक्षिणी भेगसँगको यातायात सम्पर्क स्थापित गर्न नगरपालिका लागि परेको उहाँको भनाइ छ ।

लामो समयदेखि सडक मर्मत नभएपछि बागलुङ नगरपालिकाका वडा नम्बर ११, १२, १३ र १४ वडा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका हजारौं नागरिकले सास्ती भोग्नु परेको छ ।

पहिरो गएको क्षेत्रमा सडक कालोपत्रे पनि थियो । तर, नालीको उचित व्यवस्थापन नहुँदा कालोपत्रे पत्र–पत्रमा परिणत भएको छ । अहिले सानै पहिरो आउँदा पनि सडक अवरुद्ध हुने अवस्था आएको स्थानीय किरण मल्लको भनाइ छ ।

दब्ल्याङमा मनपरी सडक खन्ने तर, नाली व्यवस्थापन गर्न आनाकानी गर्दा पानी पर्ने बित्तिकै पहिरो झर्ने गरेको छ । जसका कारण नजिकै रहेको घरहरूसमेत उच्च जोखिममा छन् ।

सरोकारवाला निकायले सडकको थप व्यवस्थापन गर्न नसके सडकसँगै त्यस वरपरका बस्ती समेत जोखिममा पर्ने देखिएको छ ।