
काभ्रे । रेबिज रोग नियन्त्रणका लागि ४ बुँदे संकल्प प्रस्ताव जारी गरिएको छ ।
धुलिखेलमा सरोकारवालाबीचको छलफलपछि सबैले आ–आफ्नो क्षेत्रबाट कार्यान्वयन गर्ने प्रतिबद्धतासहित संकल्प प्रस्ताव जारी भएको हो ।
संकल्प प्रस्तावमा रेबिज रोगबाट हुने मानव मृत्युलाई शून्यमा पुर्याउने अभियानको सफलताका लागि आ–आफ्नो तहबाट कार्ययोजना तय गरी सोही अनुसार कार्य गर्ने उल्लेख छ ।
यस्तै, रेबिज नियन्त्रणका लागि आवश्यक पर्ने साधनश्रोत, खोप, जनशक्ति तथा प्रविधिको प्रयोग, घरपालुवा कुकुर दर्ताको विषय पनि संकल्प प्रस्तावमा समेटिएको छ ।
त्यसैगरी, बन्ध्याकरण र फोहोरमैला व्यवस्थापन लगायतका कार्यबाट सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्ने, तीन तहका सरकारहरु र अन्य सरोकारवाला निकायबीच हातेमालो गर्दै सहयोग गर्ने विषय संकल्प प्रस्तावमा उल्लेख छ ।
नेपालमा ९५ प्रतिशत भन्दा बढी रेबिज रोगको संक्रमण कुकुरको टोकाइबाट हुने गरेको छ । नेपालमा रेबिजका कारण हरेक वर्ष १ सय मानिसको ज्यान जाने गरेको अनुमान गरिएको छ ।
कार्यक्रममा पशु सेवा विभागकी महानिर्देशक डाक्टर दमयन्ती श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मा, नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्