
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पूँजी बजारमा हालै देखिएको अस्वाभाविक गिरावटको मुख्य कारण सरकारी नीति तथा अभिव्यक्तिनै भएको निष्कर्ष निकाल्दै सुधारका लागि मागपत्र प्रस्तुत गरेको छ ।
दैनिक २१ अर्बको कारोबार भइ ४२ खर्ब बढीको पुँजीकरण भई नेप्से परिसुचक ३२ सय १७ को हाराहारी पुगिसकेको थियो । उच्च विन्दुबाट नेप्से ६ सय ५० विन्दुले झरिसकेको छ भने दैनिक कारोबार तीन अर्बमा खुम्ँिचदै गएको छ । पुँजीकरणमा आएको गिरावटसँगै लगानीकर्ताले अर्बौं रकम गुमाउन पुगेका छन् ।
बजार घट्दा लगानीकर्तामा चरम निराशा तथा हतोत्साहित मनस्थितिमा पुगेको चेम्बरले जनाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा निर्धारण गरेको ४ करोड र १२ करोडको कर्जा सीमा नै मुख्य कारण रहेकोले उक्त सीमा पूर्ववत कायम गर्न उसले माग गरेको छ ।
विद्यमान सिसिडी रेसियो हटाइ सिडि रेसियो लागू गर्दा ३ सय अर्ब हाराहारी लगानी योग्य पूँजी उपयोगविहीन भएकाले माथिका दुवै व्यवस्था पूर्ववत कायम गर्न चेम्बरले माग गरेको छ । यसैगरी, स्टक एक्सचेञ्ज तथा धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा बजारमा अनेक विकृति देखा परेको चेम्बरको ठहर छ ।
नीतिगत रूपमा सम्बोधन हुनुपर्ने एजेन्डाहरु सम्बोधन नहुँदा बजार अनिर्णयको अवस्थामा पुगेकोले यथासम्भव बोर्ड र स्टक एक्सचेञ्जको विवाद समाधान गरी नयाँ नेतृत्व ल्याउनुपर्ने लगायतका सुझाव चेम्बरले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्