१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पीडितलाई न्याय र दण्डहीनता अन्त्यका लागि सक्रिय रहन प्रधानमन्त्री देउवाकाे निर्देशन


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी अनुसन्धान कार्यमा कसैसँग सम्झौता नगर्ने संगठन भएको बताउनुभएको छ । प्रहरी कुनै शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको उहाँको भनाइ छ ।

६६औं प्रहरी दिवसको अवसरमा बुधबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले निष्पक्ष अनुसन्धान कानूनी राज्यका आधार भएकाले पीडितलाई न्याय दिलाउनुका साथै दण्डहीनताको अन्त्य गर्न प्रहरी सक्रिय हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा संगठित एवं विद्युतीय सञ्जालमा आधारित भएर विश्वभरि फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रहरीलाई सुझाव दिनुभयो । प्रहरी संगठनले थालेका सुधारात्मक प्रयासका रचनात्मक कार्यलाई सफल तुल्याई संस्थागत विकासमार्फत प्रभावकारी सेवा प्रवाह गर्न प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा सुरक्षा निकायलाई सक्षम, निष्पक्ष, पारदर्शी र उत्तरदायी रूपमा सञ्चालन गर्दै सुरक्षा अंगको व्यावसायिकतामा जोड दिने कुरा समावेश गरिएको भन्दै उहाँले प्रहरीको मनोबल उच्च बनाउने र साधनस्रोत उपलब्ध गराउने कुरामा सरकार संवेदनशील रहेको बताउनुभयो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले अपराध अनुसन्धान तथा त्यसको नियन्त्रण, अनुशासन र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी रहेको नेपाल प्रहरीलाई साधनस्रोत सम्पन्न गराउने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले नयाँ चुनौती सामना गर्न प्रहरीलाई सरकारको पूर्ण साथ र सहयोग रहनेसमेत प्रतिबद्धता जनानुभयो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन तत्कालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा लागेको बताउनुभयो । व्यावसायिक, जुझारु र आँटिला प्रहरी कर्मचारीका कारण नेपाल प्रहरी अविच्छिन्न अस्तित्वमा रहेको उहाँको भनाइ छ ।